
भोजपुर, ९ मङ्सिरः भोजपुरमा उन्नत जातका पशु उत्पादन गरी दूध तथा मासु उत्पादन बढाउने उद्देश्यले कृत्रिम गर्भाधान सेवा लिने किसानको सङ्ख्या बढ्दै गएको छ । स्थानीय जातका गाईभैँसीको नस्ल सुधार गरी उत्पादन क्षमता बढाउन सकिने भएपछि किसान यस प्रविधितर्फ आकर्षित भएका हुन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका सूचना अधिकारी मनोज पोखरेलका अनुसार जिल्लामा गत आर्थिक वर्षमा १८० गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो । चालु आर्थिक वर्षको हालसम्म थप १०० गाईभैँसीमा यो सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय किसानमा कृत्रिम गर्भाधानप्रति चासो बढ्नाका साथै सेवा लिने क्रम पनि बढेको उहाँको भनाइ छ ।
केन्द्रले किसानलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घर तथा गोठमै पुगेर कृत्रिम गर्भाधान सेवा प्रदान गर्दै आएको छ । पशुलाई सेवा केन्द्रसम्म ल्याउनुपर्ने झन्झट हटाउन प्राविधिक टोली किसानको मागअनुसार घरदैलोमै पुग्ने गरेको छ । घरमै पुगेर सेवा प्रदान गर्दा गाईका लागि रु एक हजार र भैँसीका लागि रु एक हजार ५०० शुल्क लिने गरिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
कृत्रिम गर्भाधानका लागि भैँसीमा मुर्रा तथा गाईमा किसानको मागअनुसार होलिस्टेन र जर्सी जातको वीर्य प्रयोग गर्ने गरिएको केन्द्रले जनाएको छ । यस प्रविधिबाट स्थानीय जातका पशुको नस्ल सुधार गरी उन्नत जातका बाच्छाबाच्छी तथा पाडापाडी उत्पादन गर्न सकिन्छ । उन्नत जातका पशुको उत्पादन क्षमता बढी हुने भएकाले दूध उत्पादन बढाउन पनि सहयोग पुग्ने केन्द्रको भनाइ छ ।
भोजपुर नगरपालिका–८ पोखरेका स्थानीय किसान उपेन्द्र कार्कीले कृत्रिम गर्भाधान सेवा किसानका लागि सहज र लाभदायक बनेको बताउनुभयो । उहाँले आफ्ना गाईमा दुई पटक कृत्रिम गर्भाधान विधि अपनाइसकेको जानकारी दिनुभयो । उन्नत जातको वीर्य प्रयोग गरी नस्ल सुधार गर्दा पशुको दूध उत्पादनमा पनि वृद्धि भएको उहाँको अनुभव छ ।
पहिले पशुको प्रजननका लागि उपयुक्त जातको गोरु तथा राँगो खोज्नुपर्ने अवस्था रहेकामा कृत्रिम गर्भाधान सेवाले त्यो झन्झट हटाएको किसान कार्कीले बताउनुभयो । प्राविधिक टोली घरमै आएर सेवा दिने भएकाले पशुलाई अन्यत्र लैजानुपर्ने समस्या पनि नरहेको उहाँको भनाइ छ । उन्नत जातको वीर्य प्रयोग गर्दा दूध उत्पादन बढ्नाका साथै नस्ल सुधारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
कृत्रिम गर्भाधानबाट उन्नत जातका पशु उत्पादन गर्न, पशुको उत्पादन क्षमता वृद्धि गर्न तथा दूध उत्पादन बढाउन सहयोग पुग्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख पुष्पराज दाहालले बताउनुभयो । प्राकृतिक गर्भाधानका लागि उन्नत जातका गोरु तथा राँगा पाल्नुपर्ने वा खोज्नुपर्ने बाध्यता हट्नुका साथै पशुको नस्ल सुधारमा पनि यो प्रविधिले सहयोग पुर्याउने उहाँको भनाइ छ ।
उहाँका अनुसार कृत्रिम गर्भाधान प्रविधिमार्फत किसानले आफ्नो आवश्यकता र पशुपालनको उद्देश्यअनुसार उपयुक्त जातको वीर्य प्रयोग गर्न सक्छन् । यसबाट स्थानीय जातका पशुको नस्ल सुधार गरी क्रमशः उत्पादनमुखी पशुपालनलाई प्रोत्साहन गर्न सकिन्छ । पशुको अवस्था हेरेर प्राविधिकले गर्भाधानका लागि उपयुक्त समय र आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श दिने गरेका छन् ।
पशु लिएर सेवा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेपछि दुर्गम क्षेत्रका किसानलाई सेवा लिन सहज भएको छ । किसानको मागअनुसार प्राविधिक टोली घर तथा गोठमै पुग्ने भएकाले समय र खर्चको बचत हुनाका साथै पशुको प्रजनन व्यवस्थापनमा पनि सहयोग पुगेको छ ।
पशुपालनलाई आम्दानीको भरपर्दो माध्यम बनाउन कृत्रिम गर्भाधान उपयोगी प्रविधि बन्दै गएको केन्द्रको भनाइ छ । विशेषगरी दूध उत्पादनलाई प्राथमिकता दिएर गाईभैँसी पाल्दै आएका किसानले उन्नत जातका पशु उत्पादन गर्न यो प्रविधि प्रयोग गर्न सक्ने केन्द्रले जनाएको छ ।
कृत्रिम गर्भाधान सेवाको विस्तारसँगै जिल्लामा पशुपालन व्यवसायलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पशुको नस्ल सुधार र उत्पादन वृद्धि गर्न किसानलाई यस प्रविधिबारे थप जानकारी गराउँदै सेवा विस्तार भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |