
बाँके, ८ मङ्सिरः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा आज तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगञ्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा लिली बोहरा, दुवाना लामा र विकास कुमालले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् ।
महिलातर्फ ४०० मिटर व्यक्तिगत मिड्ले शैलीको प्रतिस्पर्धामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की लिली बोहराले दुई पटक राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण पदक जितिन् । उनले हिट चरणमा सोफिया शाहको नाममा रहेको पाँच मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान तोड्दै पाँच मिनेट २१.५२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।
यसै स्पर्धामा नेपाली सेनाकी दुवाना लामाले पनि पाँच मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गर्दै सोफियाको कीर्तिमान तोडिन् । फाइनलमा लिलीले आफ्नै समय सुधार गर्दै पाँच मिनेट १७.०१ सेकेन्डमा दूरी पूरा गरिन् । दुवानाले रजत र नेपाल प्रहरीकी देवांशी जोशीले कास्य पदक जितिन् ।
यसअघि सोफियाले भारतको गुवाहाटीमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उक्त कीर्तिमान कायम गरेकी थिइन् ।
पुरुषतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोक पौडीमा कोशी प्रदेशका विकास कुमालले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे । उनले ११औँ एनएसए कपमा कायम गरेको ३०.६६ सेकेन्डको कीर्तिमानलाई सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाए । फाइनलमा भने उनले ३०.८४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते । नेपाली सेनाका जाडेन श्रेष्ठले रजत र नेपाल प्रहरीका इरभिन श्रेष्ठले कास्य पदक प्राप्त गरे ।
दसौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पौडीमा नेपाल प्रहरीका मायोन श्रेष्ठले जितेका थिए । उनले आज बिहान भएको पुरुष १५०० मिटर खुला पौडीमा १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिमका अथर्व सिंहले रजत र नेपाल प्रहरीका रचित बुढाथोकीले कास्य पदक प्राप्त गरे ।
महिलातर्फ ५० मिटर ब्रेस्ट स्ट्रोक पौडीमा नेपाली सेनाकी दुवाना लामाले ३६.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । बागमती प्रदेशकी रोयल प्रजापतीले रजत र प्राज्ना ताम्राकारले कास्य पदक प्राप्त गरिन् ।
पुरुष १०० मिटर खुला पौडीमा बागमती प्रदेशका अभिभ प्रधानले ५३.०३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । नेपाल प्रहरीका इरभिन श्रेष्ठले रजत र नेपाली सेनाका अल्भिन महर्जनले कास्य पदक प्राप्त गरे ।
महिला १०० मिटर खुला पौडीमा गैरआवासीय नेपाली सङ्घकी मिखा काया थापाले एक मिनेट २.९३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । नेपाली सेनाकी दुवाना लामाले रजत र गैरआवासीय नेपाली सङ्घकी लिली बोहराले कास्य पदक प्राप्त गरिन् ।
पुरुष २०० मिटर ब्याकस्ट्रोकमा बागमती प्रदेशका अभिभ प्रधानले दुई मिनेट २०.६५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । सुदूरपश्चिमका अथर्व सिंहले रजत र बागमतीका रेवन्तबहादुर श्रेष्ठले कास्य पदक प्राप्त गरे ।
महिला २०० मिटर ब्याकस्ट्रोकमा गैरआवासीय नेपाली सङ्घकी मिखा काया थापाले दुई मिनेट ३९.६४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् ।
पुरुष चार गुणा १०० मिटर मिड्ले रिलेमा नेपाली सेनाको टोलीले स्वर्ण जित्यो । रायन सिंह देउजा, जाडेन श्रेष्ठ, सौरेनबहादुर सिंह र अल्भिन महर्जन सम्मिलित टोलीले चार मिनेट १३.०६ सेकेन्डमा दूरी पूरा गरेको थियो । बागमती प्रदेशले रजत र नेपाल प्रहरीले कास्य पदक प्राप्त गरे ।
महिला चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले दुई मिनेट १.३० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । बागमतीकी रोयल प्रजापती, प्राज्ञा ताम्रकार र आर्या महर्जनसहितको टोलीले उक्त पदक जितेको हो । नेपाली सेनाले रजत र नेपाल प्रहरीले कास्य पदक प्राप्त गरे ।
चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा पनि बागमती प्रदेशले स्वर्ण जित्यो । रेवन्तबहादुर शाह, आर्या महर्जन (वरिष्ठ), रोयल प्रजापती र अभिभ प्रधान सम्मिलित टोलीले एक मिनेट ५०.२७ सेकेन्डमा दूरी पूरा गरेको थियो ।
आज ११ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा चार स्वर्ण, दुई रजत र तीन कास्यसहित बागमती प्रदेश शीर्ष स्थानमा रह्यो । गैरआवासीय नेपाली सङ्घले तीन स्वर्ण र एक कास्य, नेपाली सेनाले दुई स्वर्ण, पाँच रजत र एक कास्य, नेपाल प्रहरीले एक स्वर्ण, दुई रजत र छ कास्य तथा कोशी प्रदेशले एक स्वर्ण र सुदूरपश्चिम प्रदेशले दुई रजत पदक जिते ।
पौडीका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगिताअन्तर्गत भोलि पनि ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । भोलि बिहान ९ बजेदेखि खेल सञ्चालन हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |