
चितवन, ८ मङ्सिर : मौरीपालन विकास केन्द्र भण्डाराले चिउरीको बिरुवाको कलमी परीक्षण सुरु गरेको छ । चालु आर्थिक वर्षको सुरुवातीसँगै केन्द्रले परीक्षण सुरु गरेको हो ।
कार्यालयका प्रमुख सुजन अङ्गाइका अनुसार हरेक महिना ३० वटा बिरुवामा कलमी गरेर कुन महिनामा गर्दा सफल हुन्छ भन्ने अध्ययन गर्न लागिएको हो । कलमी सफल भएको महिनामा कार्यालयले बिरुवा उत्पादन गरेर किसानलाई बिक्री वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको रु तीन लाख लागतमा कलमी परीक्षण सुरु गरिएको अङ्गाइ बताउनुभयो । उहाँका अनुसार विज (बीउ) बाट उत्पादित बिरुवाले फल दिन ढिलो गर्ने तर कलमीबाट उत्पादन गरिएको बिरुवाले फल दिन छिटो गर्ने भएकाले कलामीको परीक्षण सुरु गरिएको हो । जिल्लामा नै चिउरीको व्यावसायिक खेती गर्ने किसानलाई वितरण गर्ने उद्देश्यले कलमी गर्न लागिएको हो । प्रमुख अङ्गाइले भन्नुभयो, “चिउरीको क्षेत्रफल बढ्दा मौरीपालक किसानको मात्रै आम्दानी बढी व्यावसायिक चिउरीखेती गर्ने किसानको समेत आर्थिक उन्नति हुनेछ ।” मौरीको चरन क्षेत्र विकासका लागिसमेत यसले सहयोग गर्ने उहाँको भनाइ छ । कार्यालयले बिउबाट उत्पादीत भएको बिरुवालाई कलमी गर्न हरेक वर्ष पाँच हजार बिरुवा पुष्प विकास केन्द्र गोदावरी पठाउने गरेको छ ।
यसअघि पुष्प बिकास केन्द्र गोवारीमा ६ वर्ष अघि देखि चिउरीको बिरुवाको कलमी गरेर परिक्षण गरिएको थियो । कार्यालयको परिक्षणका क्रममा जेठ, असार, साउन महिना उत्तम देखिएको भए पनि चितवनको हावा पानी अनुसार कुन समय उत्तम हुन्छ हेर्नका लागि परिक्षण सुरु गरिएको हो ।
पुष्प विकास केन्द्र गोवारीका कार्यालय प्रमुख रवीन्द्र थापाका अनुसार चिउरीको साधारण तथा व्यावसायिक रुपमा खेती नभएकाले बीउबाट मात्रै बिरुवा उत्पादन गरिँदै आएको थियो । व्यावसायिक रुपमा किसानलाई चिउरीखेतीतर्फ आकर्षित गर्नका लागि कलमी बिरुवा उत्पादन थलिएको उहाँले बताउनुभयो । बीउबाट उत्पादन गरिएको बिरुवाले छ देखि आठ वर्षमा फल दिने गरेको भए पनि अध्ययनले कलमी गरेको बिरुवा एक वर्षमा नै फूल फुल्न थालेको उहाँले जानकारी दिनुभयो ।
उक्त कार्यालयले बिगत दुई वर्षदेखि किसानलाई चिउरीको कलमी बिरुवा उपलव्ध गराउन थालेको छ । अनुसन्धान नभएको बाली भएकाले सुरुवाती समयमा किसानलाई चिउरीका थोरै बिरुवा मात्र वितरण गर्न थालिएको उहाँले बताउनुभयो । प्रमुख थापाले भन्नुभयो, “हामीले परीक्षण स्वरुप रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा ३०० बिरुवा रोपेका छाँै । परीक्षणपछिको अनुसन्धानको काम क्याम्पसले नै गर्नेछ ।”


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |