
भद्रपुर (झापा), ८ मङ्सिरः आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ ।
सप्ताहव्यापी ‘राष्ट्रिय कर दिवस, २०८३’ को समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुनेमा झापाबाट एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामबाट अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङबाट आशिका आयल सप्लायर्स र पाँचथरबाट श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् । सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमान्दारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इमान्दारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो । करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ । कर न्याय छिटोछरितो हुनुपर्छ ।”
उहाँले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्रै नभएर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्वपूर्ण कडी भएको बताउनुभयो ।
नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास र सुशासन कायम हुने उहाँको भनाइ थियो । उहाँले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |