
भोजपुर, ८ मङ्सिरः पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।
पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा गतिविधि बढेको छ । यसले स्थानीय व्यवसायीमा उत्साह थपेको छ । मुन्दुम पदमार्ग क्षेत्रकोे चखेवाका होटलमा पछिल्लो समय पर्यटकको चाप बढेको स्थानीय होटल व्यवसायी नवराज काङमाङले बताउनुभयो । उहाँका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसतमा एक सय ५० देखि २०० जनाको हारहारीमा पर्यटक मुन्दुम पदमार्गको यात्रामा निस्कने गरेका छन् । पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढेसँगै होटलमा बस्ने तथा खाना खाने ग्राहकसमेत बढेको उहाँले बताउनुभयो । यो समयमा चखेवा क्षेत्रमा रहेका १६ वटा होटल पर्यटकले भरिभराउ हुने गरेको उहाँको भनाइ छ ।
पर्यटकको आगमनले होटल व्यवसायमा मात्र नभई स्थानीय उत्पादनको बिक्रीवितरणमा सकारात्मक प्रभाव पारेको काङमाङको भनाइ छ । पदयात्राका क्रममा आउने पर्यटकले स्थानीय होटलमा बास बस्ने, खाना खाने र आवश्यक सामग्री खरिद गर्ने गरेका छन् । यसबाट होटल व्यवसायीको आम्दानी बढ्नुका साथै स्थानीय कृषिउपज तथा घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुगेको छ ।
विशेषगरी भदौदेखि मङ्सिरसम्म र चैतदेखि साउनसम्म मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढी हुने गरेको व्यवसायी काङमाङले बताउनुभयो । मौसम अनुकूल हुँदा पदयात्रा गर्न सहज हुने र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिने भएकाले यी समयमा पर्यटकको आगमन बढ्ने गरेको उहाँको भनाइ छ । पर्यटकको आगमनलाई अझ व्यवस्थित गर्नसके स्थानीय क्षेत्रमा थप रोजगारी र व्यवसायका अवसर सिर्जना हुने उहाँले बताउनुभयो ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय सम्पत्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रको योजनाबद्ध विकासमा जोड दिँदै पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।
अध्यक्ष बस्नेतले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न प्रचारप्रसारसँगै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो । पर्यटकको आगमनलाई निरन्तरता दिन पदमार्गको संरक्षण, सरसफाइ, आवागमनमा सहजता र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
“मुन्दुम पदमार्गको यात्रा गर्ने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यहाँ आउने पर्यटकको सहज र सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक ध्यान दिएको छ ।”
मुन्दुम पदमार्ग प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय क्षेत्र हो । यस पदमार्गमा पदयात्रा गर्दा पूर्वी पहाडका रमणीय डाँडाकाँडा, हरियाली वनजङ्गल, गुराँस क्षेत्र तथा विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका मौलिक पक्षले यस पदमार्गलाई अन्य पर्यटकीय क्षेत्रभन्दा विशिष्ट पहिचान दिएका छन् । यहाँको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले पदयात्रा तथा प्रकृति अवलोकनमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन क्षेत्रको विकासले स्थानीय नागरिकको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटकको आगमन बढ्दा होटल तथा खाना पसल सञ्चालन गर्ने अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्नसके गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आम्दानीका अवसर प्राप्त गर्ने उपाध्यक्ष राईले बताउनुभयो ।
पदयात्राका क्रममा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरोलगायत क्षेत्र पर्यटकका प्रमुख आकर्षण बनेका छन् । मौसम खुलेका बेला यहाँबाट देखिने हिमाली दृश्य, अग्ला डाँडाकाँडा र प्राकृतिक मनोरम वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ । पदयात्राका क्रममा स्थानीय रहनसहन, संस्कृति र परम्परालाई नजिकबाट अवलोकन गर्न पाइनु पनि यस क्षेत्रको अर्को विशेषता हो । पछिल्लो समय प्रकृति अवलोकन, पदयात्रा र स्थानीय संस्कृति बुझ्ने उद्देश्यले घुमफिर गर्ने पर्यटकको आकर्षण बढ्दै गएको छ ।
पर्यटकलाई स्थानीय उत्पादनको स्वाद र पहिचानसँग परिचित गराउनसके यहाँ उत्पादित कृषिउपज, परम्परागत परिकार तथा घरेलु सामग्रीको बिक्री बढाउन सकिन्छ । पर्यटकको सहज आवागमनका लागि पदमार्ग क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार र व्यवस्थापनका काम भइरहेको छ । खानेपानी, शौचालय, विश्रामस्थल, सूचना पाटी, पदमार्गको नियमित मर्मतसम्भार भइरहेको छ । पर्यटकको सुरक्षित यात्राका लागि स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच समन्वय गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ । पदमार्गको प्रचारप्रसार, स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धन, पूर्वाधार विकास तथा पर्यटकमैत्री सेवा विस्तारलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |