
डडेल्धुरा, ८ मङ्सिरः सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ ।
स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।
अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो ।
मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन् । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधना गर्न पुग्छन् ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो । किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ । सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ ।
स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |