
धनकुटा, ७ मङ्सिरः वर्षभरि गुमाएका आफन्तको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाउँदै नयाँ उत्साह र उमङ्गका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मङ्सिरे) पर्व सुरु भएको छ ।
धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ पर्व मनाउन थालेको हो ।
वडाङ्मेट पर्वका अवसरमा वर्षभरि आमाबुबा वा परिवारका सदस्य गुमाएका आठपहरिया समुदायका सदस्य दुःख बगाउने धार्मिक परम्परा पूरा गर्न धनकुटाबाट सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलासम्मको पैदल यात्रामा निस्किएका छन् । गत शनिबार धनकुटाबाट यात्रा सुरु गरेका उनीहरु चार दिनको पैदल यात्रामार्फत बराहक्षेत्र पुगेर पुनः धनकुटा फर्किने परम्परालाई निरन्तरता दिइरहेका छन् ।
आठपहरिया समुदायमा आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने र वर्षभरि लागेको जुठोबाट चोखिने विशेष धार्मिक मान्यता रहेको छ । सोही मान्यताअनुसार परिवारका सदस्य गुमाएका व्यक्तिहरु बराहक्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर कपाल र दाह्री खौरिने तथा स्नान गरी दुःख बगाउने गर्छन् । चार दिनको पैदल यात्रामा निस्किएका आठपहरियाहरु पहिलो दिन धनकुटाको आहालेमा बास बसेका छन् ।
दोस्रो दिन आइतबार बराहक्षेत्रस्थित कोकाहा खोला पुगेर कपाल र दाह्री खौरिने, स्नान गर्ने तथा बराह भगवान्को दर्शन गरी सोही ठाउँमा बास बसेको आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिनुभयो । धार्मिक विधि पूरा गरेपछि देवता घरमा ल्याउने परम्परा पनि रहेको उहाँले बताउनुभयो ।
तेस्रो दिन सोमबार बराहक्षेत्रबाट फर्किने उनीहरु बेलुका धनकुटा नगरपालिकाको बगुवा खोलामा बास बस्ने र मङ्गलबार धनकुटा आइपुग्नेछन् । पैदल यात्राका क्रममा उनीहरु खुल्ला आकाशमुनि बास बस्नुपर्ने चलन रहेको छ । अरूले बनाएको पाटीपौवा तथा चौतारामा बास बस्न नहुने मान्यता रहेको छ । त्यसपछि बुधबार धनकुटा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका २२ वटा मार्गा थान मन्दिरमा भेला भएर विधिपूर्वक पूजा गर्नेछन् ।
वडाङ्मेट पर्व केवल आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने अवसर मात्र होइन, परिवारमा नयाँ खुसी र उपलब्धिको उत्सव मनाउने पर्वसमेत हो । मार्गा पूजा सम्पन्न भएपछि समुदायका सदस्यले घरघरमा दुःखको कर्म फुकाउने परम्परा पूरा गर्छन् । यस क्रममा वर्षभरि परिवारका सदस्य गुमाएका घरपरिवारले शोकसम्बन्धी परम्परागत विधि सम्पन्न गरी घरमा जेठो सन्तान जन्मिएको वा नयाँ घर निर्माण भएको अवसरमा हर्षबढाइँ गर्ने, आफन्त तथा छरछिमेकलाई बोलाएर भोज खुवाउने र सामूहिक रुपमा नाचगान गर्ने गर्दछन् । यो क्रम करिब १५ दिनसम्म जारी रहने र समुदायभित्र रहेका हुम्बारक, छिर्लिङे र खावाडो गरी तीन पाछाका पुस्तागत डल्ले नाच तथा मारुनी नाच चलन रहेको पुजारी उमेश आठपहरियाले जानकारी दिनुभयो । मारुनी नाच नाच्नेलाई पैसाको माला दान गर्ने चलन रहेको छ ।
धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको फरक संस्कार र संस्कृति रहेको आठपहरिया समुदायले वर्षभरि तीनवटा प्रमुख चाड मनाउने गरेका छन् । जसमा वैशाखमा विशु, भदौमा न्वागी र कात्तिक वा मङ्सिरमा वडाङ्मेट पर्व मनाउने गरिन्छ । तीनवटै चाड मनाउन विश्वका जुनसुकै ठाउँमा पुगेका भए पनि मूल बसोबास क्षेत्र धनकुटा नै आउनुपर्ने मान्यता रहेको छ ।
वडाङ्मेटलाई आठपहरिया समुदायको सबैभन्दा ठूलो तथा महत्वपूर्ण चाडका रुपमा लिने गरिन्छ । भाइटिकापछि उपयुक्त साइत जुराएर माङ्ला उठाएपछि वडाङ्मेट पर्व सुरु हुने चलन रहेको छ । धनकुटा नगरपालिकामा करिब छ हजारको हाराहारीमा आठपहरिया समुदायका मानिसको बसोबास रहेको छ । वडाङ्मेट पर्वका अवसरमा धनकुटा नगरपालिकाले मङ्सिर ८ र ९ गते सार्वजनिक बिदा दिएको छ ।
सहिदभूमिमा वाढाङ्मी (पापानी) तयारी
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायको पापानी चाड पनि सुरु हुन लागेको छ । नयाँ बाली भित्र्याएको खुसियालीमा मनाइने यो पर्व कार्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलबार सहिदभूमि गाउँपालिका–३ स्थित साकेन्वा थानमा पूजा गरेपछि सुरु हुने परम्परा छ । यो वर्ष कात्तिक पूर्णिमा मङ्गलबार मङ्सिर ८ गते परेकाले सोही दिनबाट पापानी चाड सुरु हुने स्थानीयवासी नरेन्द्र कश्चित राईले जानकारी दिनुभयो ।
पापानी पर्वमा किराँत राई समुदायले कुलदेवताको पूजाआराधना गर्दै ढोल र झ्याम्टा बजाएर छ दिन छ रातसम्म नाचगान गर्ने गर्छन् । एकापसमा कुम जोडेर गोलो घेरामा खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने यस पर्वको विशेषता हो । नयाँ बाली भित्र्याएको खुसियाली साटासाट गर्दै इष्टदेवताको पूजा र सामूहिक नाचगानका साथ पर्व मनाइने गरिन्छ ।
चाडको पहिलो दिन गाउँभरिका गढी घरका ढोलहरु मूल पुजारीको घरमा भेला गरी पूजा गरेर पापानी सुरु गरिन्छ । दोस्रो दिन घरघरमा देवीदेवता भित्र्याएर पूजा गर्ने र माङ्ला अर्थात् जोखाना हेर्ने चलन छ । पर्वको अन्तिमतिर इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीक ङाङसुबाथिङको घर हुँदै गढी घर, पथ्थरे र मझियाको गढी घरमा पूजा गर्ने परम्परा रहेको छ । सो अवसरमा सहिदभुमि गाउँपालिकाले मङ्सिर १३ र १४ गते सार्वजनिक बिदा दिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |