
त्रिशूली (नुवाकोट), ७ मङ्सिरः नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय हावापानीमा राम्रो फल्ने, सुगन्धित र स्वादिलो हुने तथा पराल पनि पर्याप्त उत्पादन हुने भएपछि किसानले यसको खेती विस्तार गर्न थालेका छन् ।
दुप्चेश्वर गाउँपालिका–६ स्थित बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनीमा जेठोबुढो धानको खेती गर्नुभयो । उहाँसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले सोही जातको धान लगाउनुभएको थियो ।
आचार्यले दुई वर्षअघि बागलुङबाट एक पाथी बीउ ल्याई यसको खेती सुरु गरेको जानकारी दिनुभयो । गत वर्ष परीक्षणका रूपमा खेती गर्दा चार मुरी धान उत्पादन भएपछि यस वर्ष उहाँले छ पाथी बीउ प्रयोग गरी आठ रोपनीमा खेती विस्तार गर्नुभयो ।
यस वर्षको खेती लगाउन उहाँले वैशाख अन्तिममा बीउ राखेर जेठको अन्तिम साता रोपाइँ गर्नुभएको थियो । उक्त धान मङ्सिरको पहिलो साता भित्र्याइसक्नु भएको छ । बीउ राखेदेखि धान पाकेर भित्र्याउन भने छ महिना पूरा लागेको उहाँले बताउनुभयो । “जेठोबुढो धानको भात नरम, स्वादिलो र बास्नादार हुन्छ । आफैँले बीउ छानेर राखेका छौँ,” आचार्यले भन्नुभयो । आठ रोपनीमा गरेको खेतीबाट उहाँले अहिले बीस मुरी धान फलाउनुभयो । त्यस्तै, १२० भारी पराल उत्पादन भएको छ । धानको स्वाद र सुगन्ध, परालको राम्रो उत्पादन तथा बजारमा राम्रो मूल्य पाउन सकिने हुँदा यस खेतीको विस्तार गर्न उत्साहित बनाएको उहाँको भनाइ छ । इच्छुक किसानलाई खेती विस्तारका लागि आवश्यक बीउ सहुलियत शुल्कमा उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो ।
दुप्चेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख सुदेश सुवेदीले स्थानीय हावापानी जेठाबुढो धान खेतीका लागि अनुकूल रहेकाले विस्तारको प्रशस्त सम्भावना रहेको बताउनुभयो । किसानले यसको खेतीबाट उत्पादन लिन थालेसँगै रैथाने जातको धानप्रति चासो र आकर्षण बढ्नु सकारात्मक भएको उहाँको भनाइ छ ।
“दुप्चेश्वरको हावापानी जेठोबुढो धान खेतीका लागि उपयुक्त छ । उत्पादन केही कम भए पनि स्वाद, सुगन्ध, बजार मूल्य र पराल उत्पादनका हिसाबले यो किसानका लागि लाभदायी हुन सक्छ,” कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो, “त्यसैले रैथाने बीउ संरक्षण गर्दै यसको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहन र प्राविधिक सहयोग गर्नेछ ।”
शिखरबेँसीको परम्परागत कृषि पहिचानका रूपमा रहेको समुन्द्रफिनी जातको धानको खेती लगाउने किसानको सङ्ख्या घट्दो छ । फल लिन लामो समय लाग्ने र धेरै उत्पादन नहुने भन्दै किसानको आकर्षण घट्दै जाँदा पुस्तौँदेखि जोगिँदै आएको यस रैथाने जातको बीउ नै लोप हुने जोखिम बढ्दै गएको उहाँले बताउनुभयो ।
“समुन्द्रफिनी धान शिखरबेँसी–दुप्चेश्वरको मौलिक कृषि पहिचान बोकेको रैथाने जात हो । सो जातको धान खेती गर्ने किसान घट्दै जाँदा बीउ संरक्षणमा चुनौती थपिएको छ,” सुवेदीले भन्नुभयो, “जेठाबुढाजस्तै समुन्द्रफिनी धानको खेती पनि पुनः विस्तार गरी रैथाने जातको संरक्षण गर्न आवश्यक छ ।”
उहाँका अनुसार गाउँपालिकाले जेठोबुढो तथा समुन्द्रफिनीजस्ता स्थानीय जातको खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गर्ने, आवश्यक बीउको व्यवस्थापनमा सहजीकरण गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने छ । “रैथाने जातका धान खेतीलाई निरन्तरता दिन किसानलाई प्रोत्साहित गर्न आवश्यक छ । उत्पादन, गुणस्तर र बजारको सम्भावनालाई जोडेर खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउनाका साथै स्थानीय बीउ जोगाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
रैथाने धानको बीउ संरक्षण, खेती विस्तार र बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउन सके नुवाकोटका मौलिक कृषि उपजको पुनःस्थापना हुनाका साथै किसानको आयआर्जनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |