
गण्डकी, ७ मङ्सिरः गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो ।
यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।
संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार दक्षिण एसियाली मुलकका ५२ हजार ८८६ र बाँकी अन्य देशका पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । असोज–कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो समयमा पर्यटकको आगमन बढी हुने गरेको उहाँको भनाइ छ ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् ।
अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटकको समेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |