
नयाँदिल्ली, ६ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।
नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसङ्घ (सिआइआई)द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो । अर्थमन्त्री डा वाग्लेले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
“सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु”, अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।”
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको स्पष्ट पार्नुभयो । उहाँले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताउनुभयो ।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद, सिआइआई अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष डा विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुग्नुभएका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवं प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |