
बागलुङ ६ मङ्सिर : बागलुङ नगरपालिका–४ कुडुँलको दारेगौडादेखि कालीगण्डकी नदीको ढोडेनीसम्म रु ५० लाखको लागतमा धर्मपथ पैदलमार्ग निर्माण गरिएको छ ।
स्थानीयवासीको चन्दा तथा बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा करिब एक किलोमिटर लामो पैदलमार्ग निर्माण गरिएको हो । पैदलमार्ग बनेपछि यसअघि भीर र पहाडको बाटो हुँदै आवतजावत गर्नुपर्ने स्थानीय तथा कालीगण्डकीमा स्नान गर्न जाने यात्रुलाई सहज भएको छ ।
पैदलमार्ग निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार २०८२ साल माघ १९ गते सुरु भएको निर्माण कार्य २०८३ साल कात्तिक २२ गते सम्पन्न भएको हो । पैदलमार्गमा चार वटा विश्रामस्थल, तीन वटा पानी ट्याङ्की र भगवान् शिवको मूर्ति स्थापना गरिएको छ । नगरपालिकाबाट रु तीन लाख, एकीकृत सेवा कार्यालय बागलुङबाट रु पाँच लाख तथा बाँकी रकम स्थानीयवासी र सहयोगदाताबाट जुटाइएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
पैदलमार्ग निर्माणबाट कुडुँले, छापा, सीमा, लमगाउँ, ठूलास्वाँरा र रमेटार क्षेत्रका बासिन्दा लाभान्वित हुने समितिले जनाएको छ । विशेषगरी कालीगण्डकी नदी किनारमा शवदाहका लागि शव पुर्याउन, घाँसदाउरा गर्न, खेतीपातीमा जान तथा दैनिक आवतजावत गर्न सहज हुने अध्यक्ष आचार्यले बताउनुभयो ।
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नारासहित स्थानीयवासीको सक्रियतामा पैदलमार्ग निर्माण गरिएको हो । यसले धार्मिक तथा सामाजिक गतिविधिका साथै स्थानीयको दैनिक जीवनयापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पैदलमार्गको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । उहाँले सरकारी लगानीको तुलनामा स्थानीयवासीको ठूलो योगदानमा निर्माण भएको यस पैदलमार्गले विकास निर्माणमा सामुदायिक सहभागिताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |