
बागमती, ६ मङ्सिर : मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित इपा खहरे खोलामा जथाभावी विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि स्थानीय जातका असला माछा संरक्षणको चिन्ता बढेको छ ।
साविकको बुढीचौर क्षेत्र हुँदै बग्ने उक्त खोलाको सुकौरा क्षेत्रभन्दा माथि बुढीचौरलगायत स्थानमा पछिल्लो दुई वर्षयता करेन्ट लगाएर माछा मार्ने क्रम बढेको स्थानीय युवा व्यवसायी एवं एकान्तकुना सिम होटेलका सञ्चालक गगनकुमार गोलेले बताउनुभयो ।
विगतमा खोलामा प्रशस्त असला माछा पाइने गरेकामा जथाभावी करेन्ट लगाएर मार्ने क्रम बढेसँगै माछाको सङ्ख्या घट्दै गएको उहाँले जानकारी दिनुभयो । बाहिरबाट आउने व्यक्तिसँगै केही स्थानीयवासीले पनि करेन्ट लगाएर माछा मार्ने गरेको उहाँको भनाइ छ ।
करेन्ट लगाएर माछा मार्ने कार्य रोक्न स्थानीय वडामा समेत पहल गरिएको भए पनि यस विषयमा अपेक्षित चासो नदिइएको गोलेले गुनासो गर्नुभयो । बुढीचौरमा आउने पर्यटकले स्थानीय असला माछाको स्वाद लिन रुचाउने गरेको उल्लेख गर्दै उहाँले करेन्ट लगाएर माछा मार्ने कार्य रोक्न सके माछाको सङ्ख्या बढ्नुका साथै स्थानीयवासीसमेत लाभान्वित हुने बताउनुभयो ।
उहाँका अनुसार इपा खहरे खोला स्थानीयस्तरमा सिँचाइका लागि पनि महत्वपूर्ण जलस्रोत हो । खोलाको जलाधार संरक्षणसँगै स्थानीय जातका माछाको संरक्षण र दिगो उपयोगका लागि सम्बन्धित सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।
बुढीचौर र आसपासका बस्तीमा खोलाको पानी कृषि सिँचाइ तथा पशुपालनका लागिसमेत उपयोग हुँदै आएको स्थानीयवासीले बताएका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |