
हुम्ला, ४ मङ्सिरः हुम्लाको सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढेको छ ।
पुल नहुँदा लामो समयदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य रिपगाउँवासीको समस्यालाई ध्यानमा राख्दै पोखरास्थित काँदुरी संस्थाले पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । पुल निर्माणका लागि आवश्यक अध्ययन तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन संस्थाको आठ सदस्यीय प्राविधिक टोली भोलि खडिखेत पुग्ने गाउँपालिका–२ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो ।
हाल खडिखेतमा पुल नहुँदा स्थानीयवासी तुइनको सहायताले नदी वारपार गर्न बाध्य छन् । यसबाट विशेषगरी बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र बिरामीलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ । तुइनबाट सामान ओसारपसार गर्दा लाखौँ मूल्यका सामग्री नदीमा खस्ने गरेको स्थानीयको भनाइ छ ।
वडा नं २ र ६ बीचको विवाद तथा असमझदारीका कारण यसअघि पुल निर्माण हुन सकेको थिएन । पछिल्लो समय दुवै वडाका जनप्रतिनिधि र स्थानीयवासीबीच सहमति जुटेपछि निर्माण प्रक्रिया अघि बढेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
पुल निर्माण भएपछि रिपगाउँवासीलाई गाउँपालिका केन्द्र सर्केगाड र सदरमुकाम सिमकोट आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक कामकाजका लागि जोखिमपूर्ण तुइन यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |