Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धादिङ

पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

पहराबाट खसिरहने दुई जलधाराको आवाजमा भजन र बाजाको धुन मिसिन्छ । परम्परागत भेषभूषामा सजिएका झाँक्री नाच्छन् । भक्तजन रातभर जाग्राम बस्छन् र उज्यालो भएपछि स्नान तथा पूजाआजामा जुट्छन् ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (२४ मिनेट अघि)
पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

धादिङ, २ मङ्सिरः पहराबाट खसिरहने दुई जलधाराको आवाजमा भजन र बाजाको धुन मिसिन्छ । परम्परागत भेषभूषामा सजिएका झाँक्री नाच्छन् । भक्तजन रातभर जाग्राम बस्छन् र उज्यालो भएपछि स्नान तथा पूजाआजामा जुट्छन् । गङ्गाजमुना मेलामा वर्षौँदेखि दोहोरिँदै आएको यो दृश्यमा प्रकृतिको सौन्दर्यसँगै मानिसका विश्वास, मनोकामना र सांस्कृतिक स्मृति भेटिन्छ ।

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फूलखर्कस्थित ढाँडखर्कको पहरा यसवर्ष पनि त्यही चहलपहलको प्रतिक्षाछ । यहाँ यही मङ्सिर ३ र ४ गते गङ्गाजमुना माई मेला आयोजना हुँदैछ । यसवर्ष हरिबोधिनी एकादशी मङ्सिर ४ गते परेको छ । एकादशीको अघिल्लो रात जाग्राम बस्ने र भोलिपल्ट बिहान स्नान तथा दर्शन गर्ने परम्पराले मेला दुई दिनलाई जोड्छ ।

गङ्गाजमुना क्षेत्र विकास कोष र गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाका अनुसार मङ्सिर ३ गते बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सांस्कृतिक झाँकी र कलाकारका प्रस्तुतिसँगै धार्मिक अनुष्ठान चल्ने मेलामा दर्शनार्थीले स्थानीय जीवन र परम्परा नजिकबाट बुझ्ने अवसर पनि पाउनेछन् ।

दुई दिदीबहिनीको कथा गङ्गाजमुनाको पहरासँग दुई दिदीबहिनीको कथा गाँसिएको छ । स्थानीय समुदायमा प्रचलित किम्बदन्तीअनुसार गङ्गा र जमुना नामका दिदीबहिनी हराएपछि परिवारजन उनीहरूलाई खोज्दै पहराको गुफासम्म पुगे । गुफाभित्रबाट दिदीबहिनीले आफूहरू सुरक्षित रहेको जनाउँदै त्यहीँ पूजाआजा गर्न आग्रह गरे । उनीहरूकै सम्झनामा गङ्गाजमुना माईको पूजा र मेला सुरु भएको जनविश्वास छ ।

पुस्तौँदेखि सुनाइँदै आएको यस कथाले झरनालाई मानिसको आस्थासँग जोडेको छ । पहरामा झर्ने पानीसँगै गङ्गा र जमुनाको सम्झना पनि स्थानीय जनजीवनमा बगिरहेजस्तो लाग्छ । झरनामा स्नान गर्ने, पहरामा रहेको मन्दिरमा महादेवको पूजा गर्ने, फूलको डोली चढाउने र बत्ती बाल्ने चलनमा त्यही परम्पराको निरन्तरता भेटिन्छ ।

गाउँपालिकाको नाम यही धार्मिकस्थलबाट राखिएकाले गङ्गाजमुना स्थानीय भूगोल र सामूहिक पहिचानमा पनि जोडिएको छ । झरनानजिकैको ‘कुकुरधारा’मा स्नान गर्ने परम्परा पनि छ । त्यहाँ नुहाउँदा जनावरले टोकेको दोष निवारण हुने धार्मिक जनविश्वास रहिआएको छ । यस्ता विश्वासले यहाँका फरक जलधारा र पूजास्थललाई भक्तजनका आ–आफ्ना मनोकामनासँग जोडेका छन् ।

जाग्रामको रात, संस्कृतिको लय एकादशीको अघिल्लो रात गङ्गाजमुना परिसरमा धार्मिक अनुष्ठान र सांस्कृतिक प्रस्तुति सँगसँगै चल्छन् । भाकल बुझाउन आएका भक्तजनको जाग्राम, झाँक्रीको नाच र भजनको लयले मेलालाई विशिष्ट स्वरूप दिन्छ । बिहानको स्नान र दर्शनमा पुगेर रातभरको धार्मिक यात्राले पूर्णता पाउँछ । स्थानीय शिक्षक कृष्णबहादुर राना भन्नुहुन्छ, “झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ ।” दर्शन तथा भाकल बुझाउन आउनेले आ–आफ्नो भेषभूषामा कला प्रस्तुत गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । झाँक्रीको पहिरन, नृत्यको चाल र भजनमा समुदायको आफ्नै सांस्कृतिक स्मृति झल्किन्छ ।

यसवर्ष गाउँपालिकाका विभिन्न वडाबाट तामाङ सेलो, लामा नाच, मारुनी, घाँटु, कौरा, चौँरी–घोडे, लाखे र टाकटुकेलगायत प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ । गायिका मनमाया वाइबा, शान्तारानी परियार र निर्जला गुरुङ तथा गायक सागर बिसी र सरोज सिम्खडालगायत कलाकारले पनि प्रस्तुति दिनेछन् । मौलिक नाच र समकालीन गीतसङ्गीतले फरक पुस्ताका रुचिलाई एउटै मेलामा समेट्नेछन् ।

उकालो बिर्साउने गन्तव्य गङ्गाजमुना पुग्ने यात्रा दर्शनार्थीका लागि आ–आफ्नै अनुभूति लिएर आउँछ । धादिङसहित रसुवा, नुवाकोट, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की र काठमाडौँलगायत जिल्लाबाट मानिस यहाँ आउने गरेका छन् । कोही भाकल बुझाउन आउँछन्, कोही दर्शन गर्न । कसैलाई भने झरनाको सौन्दर्य र मेलाको सांस्कृतिक वातावरणले तान्छ । हरेक वर्ष मेला अवलोकन गर्दै आउनुभएका स्थानीय दीपक अधिकारीका अनुसार उकालो यात्रामा देखिने पहाडी दृश्य र झरनाले मन प्रसन्न बनाउँछ । गन्तव्यमा पुगेपछि बाटोको कठिनाइ बिर्सिने अनुभव उहाँको छ ।

यात्राको थकान र गन्तव्यमा पुग्दाको सन्तोषबीचको यही सम्बन्धले पनि गङ्गाजमुनाको आकर्षण बुझाउँछ । एकपटक आएका दर्शनार्थीले सकुन्जेल फेरि दर्शन गर्न आउने इच्छा व्यक्त गर्ने गरेको अधिकारी सुनाउनुहुन्छ । मनोकामना पूरा हुने विश्वासले पनि उनीहरूलाई मेलासम्म ल्याउने गरेको उहाँको भनाइ छ । यात्रुको मनमा बोकेका अपेक्षा फरक छन्, तर पुग्ने पहरा एउटै छ । झरनाको दृश्य, रातको सांस्कृतिक चहलपहल र बिहानको दर्शनले उनीहरूलाई फेरि फर्कन मन लाग्ने सम्झना दिन्छन् ।

मेलादेखि वर्षभरको पर्यटनसम्म गङ्गाजमुनाको पर्यटकीय सम्भावना झरना र मन्दिरसँगै वरपरका बस्ती, स्थानीय खानपान र सांस्कृतिक जीवनमा फैलिएको छ । आगन्तुकको बसाइ यी पक्षसँग जोडिनसके मेलाबाहिर पनि भ्रमणका अवसर विस्तार हुन सक्छन् । स्थानीय उत्पादन, परिकार र साना व्यवसायले त्यसबाट लाभ लिनसक्ने सम्भावना छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर लामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताउनुहुन्छ । उपाध्यक्ष रामेश्वर सिंखडाले गङ्गाजमुना माई र मेलालाई पालिका तथा जिल्लाको साझा सम्पदाका रूपमा लिँदै संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार जुटिरहेको बताउनुभएको छ । मेलाको अवसरमा गाउँपालिकाले यही मङ्सिर ३ र ४ गते सार्वजनिक बिदा दिएको छ ।

यसवर्ष मेलाको तयारीमा सडक तथा पदमार्गको सहजता, सुरक्षित स्नानस्थल, खानेपानी, शौचालय र सरसफाइका विषय समेटिएका छन् । यी व्यवस्थाको प्रभावकारिता वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिको यात्रासँग पनि जोडिन्छ । धार्मिक स्थलसम्म पुग्न र त्यहाँ समय बिताउन सहज हुँदा आगन्तुकले यहाँको प्रकृति तथा संस्कृतिसँग थप नजिकिने अवसर पाउँछन् । पर्यटनको निरन्तरताका लागि झरना र धार्मिकस्थलको संरक्षणसँगै परम्परागत कला प्रस्तुत गर्ने समुदायको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । स्थानीयवासीले आफ्नो संस्कृति जोगाउँदै त्यसबाट आर्थिक अवसर पाउनसके मेलासँग जोडिएको उत्साह वर्षभरिका गतिविधिमा विस्तार हुनसक्छ । त्यसमा प्राकृतिक वातावरण र मौलिकता जोगाउने पक्ष पनि सँगै जोडिन्छ ।

एकादशीको बिहान स्नान र दर्शन सकेर भक्तजन फर्कन्छन् । बाजाको धुन र मानिसको चहलपहल थामिन्छ; पहराबाट झर्ने जलधाराको आवाज भने रहिरहन्छ । फर्कनेका मनमा फेरि आउने चाहना बाँकी रहन्छ । त्यही चाहना र पुस्तौँदेखि सुनिँदै आएको दिदीबहिनीको कथाले गङ्गाजमुनाको पहरामा अर्को मेलाको प्रतीक्षा जीवित राख्ने गर्दछ ।

  • काठमाडौँ
  • गोरखा
  • चितवन
  • धादिङ
  • नुवाकोट
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

  • Post Thumbnail

    विपद्बाट क्षतिग्रस्त निजी आवास सर्वेक्षण प्रभावित

  • मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

    मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

  • Post Thumbnail

    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

    पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

    पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

    Post Thumbnail

    त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

    Post Thumbnail

    विपद्बाट क्षतिग्रस्त निजी आवास सर्वेक्षण प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution