
काठमाडौँ, ३० कात्तिक: नेपालको कला, संस्कृति र सम्पदा राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज हुन् । नेपाल हस्तकला महासङ्घका पूर्वअध्यक्ष ईन्द्रबहादुर शाक्यद्वारा लिखित ‘नेपालको कला, संस्कृति, चाडपर्व, जात्रा र सम्पदाको सङ्ग्रह’ को आज विमोचन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले कला, संस्कृति र सम्पदा राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज भएका बताउनुभएको हो ।
उहाँले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले यस्ता विषयमा अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययनमार्फत भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
काठमाडौँ उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक सङ्गठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक रहेको अध्यक्ष अग्रवालको भनाइ छ । उहाँले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएको उल्लेख गर्नुभयो ।
परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको अध्यक्ष अग्रवालले बताउनुभयो । उहाँले सांस्कृतिक सम्पदाको संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र सम्बन्धित सरोकार भएका सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
संरक्षण अभियानलाई प्रभावकारी बनाउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय इतिहास, कला, संस्कृति र सम्पदासम्बन्धी विषय समावेश गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । उहाँले परम्परागत कला र सीपलाई जीवन्त राख्न कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक सीप र प्रविधिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष अग्रवालले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |