
पाल्पा, ३० कात्तिक: पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा)’ आयोजना हुने भएको छ ।
पाल्पा साइकलिङ सङ्घको आयोजनामा आगामी मङ्सिर ५ र ६ गते तेस्रो संस्करणको सम्पदा यात्रा हुन लागेको हो । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितिमा साइकल यात्रा हुने आयोजकले जनाएको छ ।
यात्रामा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीयस्थलको परिक्रमा गरिनेछ । सङ्घले आज तानसेनमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । सङ्घका अध्यक्ष रुपेश महर्जनले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको बताउनुभयो । उहाँले यो कार्यक्रम पाल्पा साइक्लिङ सङ्घको मात्र नभएर आमपाल्पालीको हितमा हुन लागेकाले प्रचार-प्रसारमा सहयोग गरिदिन जिल्लाका पत्रकारलाई आग्रह गर्नुभयो ।
सङ्घका महासचिव विज्ञान बज्राचार्यले पाल्पाका ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने अभियानका रूपमा सम्पदा यात्रा आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पहिलो दिन मङ्सिर ५ गते बिहान ६:३० बजे तानसेन नगरपालिकाको टुँडिखेलबाट यात्रा सुरु हुनेछ ।
तानसेनको नारायण टोल, असन टोल, तानसेन दरबार र भगवती मन्दिर हुँदै आर्य भञ्ज्याङ, चिदिपानी, हुमिन तथा पूर्वखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको अवलोकन गर्दै साइकल यात्री निस्दी गाउँपालिकास्थित अमरिसो बगानका उलेडाँडा पुग्नेछन् । दोस्रो दिन मङ्सिर ६ गते बिहानका उलेडाँडाको पर्यटकीय क्षेत्र अवलोकन गरेपछि कीर्तिपुर हुँदै रामपुर नगरपालिकासम्म यात्रा गरिनेछ । रामपुरमा दिउँसो ४:०० बजे कार्यक्रम समापन हुने आयोजकले जनाएको छ ।
यस वर्षको हेरिटेज राइडमा मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकल यात्री सहभागी हुनेछन् । यात्रामा ११ जना महिला र १८९ जना पुरुष गरी २०० जनाले सहभागिता जनाउँनेछन् । सहभागी साइकल यात्रीको उमेर १६ देखि ६१ वर्षसम्म रहेको छ ।
सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ । सम्पदा यात्राको पहिलो संस्करण २०७९ मातानसेन र पश्चिम पाल्पाका सम्पदालाई समेटेर आयोजना गरिएको थियो । दोस्रो संस्करण २०८२ मा ‘सम्पदा यात्रा’ मूल नारासहित तानसेन दरबारदेखि रामनी हल दरबारसम्म प्रतिस्पर्धात्मक साइकल यात्रा सञ्चालन गरिएको थियो ।
यसपटक तेस्रो संस्करणमा तानसेनदेखि पूर्वी पाल्पाका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । तानसेन, रम्भा, पूर्वखोला, निस्दी र रामपुरका सांस्कृतिक, धार्मिक तथा प्राकृतिक आकर्षणलाई उजागर गर्ने यात्राले स्थानीय समुदायका लागि आर्थिक अवसर सिर्जना गर्नुका साथै साइकलमार्फत स्वस्थ र दिगो जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पाल्पाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई देशविदेशमा चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटनको सम्भावना बोकेर ओझेलमा परेका गन्तव्यको प्रचारप्रसारमा सम्पदा यात्राले सहयोग पुर्याउने उहाँको भनाइ छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |