
सर्लाही, ३० कात्तिक: सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताउनुभएको छ । आज पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुग्नुभएका उहाँले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिनुभयो ।
“तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी व्यवस्था छैन भने पनि अन्य निकायबाट मिलाउन पहल गर्नेछौँ”, सभामुख अर्यालले भन्नुभयो ।
पीडित परिवारका बालबालिकाको उच्च शिक्षासम्मको पठनपाठनको जिम्मा र लालनपालनको व्यवस्थामा सरकारले स्पष्ट पहल गर्ने सभामुख अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शोकसन्तप्त परिवार र आफन्तप्रति समवेदनासमेत प्रकट गर्दै यस विषम घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित यस्ता दुर्घटना नियन्त्रणका लागि सरकारको तर्फबाट ठोस् कदम चाल्ने बताउनुभयो ।
बिहीबार छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको रिर्जभ विद्युतीय गाडी भिमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको गाडीमा सवारमध्ये यस गाउँका १३ जनाको मृत्यु भएको थियो ।
घाइते भएका छमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् । बाँकीको उपचार भइरहेको छ । भेटमा सभामुख अर्यालसँग पीडित परिवारले घटनाको विवरणसहित उचित राहतको पहल गरिदिन आग्रह गर्नुभएको थियो । अभिभावक गुमाएका बालबालिका र घरको एकमात्र सहारा गुमाएका आश्रित परिवार घटनापछि बिचल्लीमा परेका उहाँहरूको गुनासो थियो ।
गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले मृतकको दाहसंस्कार खर्च स्वरुप पालिकाले जनही रु ५० हजारका दरले सहयोग प्रदान गरेको बताउनुभयो ।
सभामुख अर्यालसँगै सर्लाही क्षेत्र नम्बर-१ की सांसद नीतिमा कार्की, २ का सांसद रविन महतो, ३ नम्बर क्षेत्रका सांसद नरेन्द्र साह कलवार, सांसद रहवर अन्सारी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायत पीडित परिवार भेट्न सुन्दरपुर गाउँ पुग्नुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |