
सुनसरी, २९ कात्तिकः भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २२औँ मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो । खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उहाँले ह्याट्रिक पूरा गरे । खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपिएफ ७–० गोलअन्तरले विजयी भएको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ एपिएफकी पूर्णिमा राई घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |