Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनुषा

आस्था, प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सव छठ पर्व

‘केरवा जे फरल घउरस, ओपर सुगा मडराय, मारबौ रे सुगवा धनुषस, सुगा गिरे मुरझाय’ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१ दिन अघि)
आस्था, प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सव छठ पर्व

धनुषा, २८ कात्तिकः ‘केरवा जे फरल घउरस, ओपर सुगा मडराय, मारबौ रे सुगवा धनुषस, सुगा गिरे मुरझाय’ ।

छठ पर्वको यो लोकप्रिय लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेको छ । छठीमातालाई चढाइने पवित्र प्रसाद केरालाई चराचुरुङ्गीले नखाऊन् भन्ने भाव बोकेको यस गीतले छठको धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको प्रेमलाई एकसाथ अभिव्यक्त गर्छ ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व नजिकिएसँगै तराई–मधेसका गाउँबस्ती, सहर, बजार र जलाशयमा छुट्टै रौनक छाएको छ । घरआँगनदेखि नदी, पोखरी र तलाउसम्म सरसफाइ तथा सजावटले उत्सवमय बनेका छन् । बजारमा बाँसका सामग्री, माटाका भाँडाकुँडा, फलफूल, उखु, अदुवा, केरा, नरिवललगायत पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ । घरबाट टाढा रोजगारी र अध्ययनका लागि गएका परिवारका सदस्यसमेत पर्व मनाउन घर फर्किन थालेपछि गाउँबस्तीमा पारिवारिक भेटघाट र आत्मीयताको माहोल बनेको छ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी भन्नुहुन्छ, “छठ केबल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृति, कृषि, संस्कृति, सामाजिक सद्भाव र पारिवारिक एकताको जीवन्त प्रतीक पनि हो । प्रत्यक्ष देखिने देवता मानिने सूर्यको उपासना गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अघ्र्य अर्पण गरिन्छ । संसारलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने सूर्यप्रति कृतज्ञता व्यक्त गर्नु नै यसपर्वको मूल भाव हो ।”

सूर्य उपासना र छठी माताको महिमा

छठ पर्वमा सूर्यदेवसँगै षष्ठी देवी अर्थात् छठी माताको पूजा गरिन्छ । पौराणिक मान्यताअनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुका साथै उनीहरूलाई स्वास्थ्य, दीर्घायु र सुख प्रदान गर्छिन् । सन्तान प्राप्ति, सन्तानको कल्याण, पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित श्रद्धालु यस पर्वमा कठोर व्रत बस्ने गर्छन् । धार्मिक मान्यताअनुसार प्रकृति देवीको छैटौँ अंशका रूपमा षष्ठी देवीको उत्पत्ति भएको हो । त्यसैले उहाँलाई षष्ठी भनिएको र स्थानीय बोलीचालीमा छठीमाता भन्ने गरिएको विश्वास छ । पुराणमा षष्ठी देवीलाई ब्रह्माकी मानसपुत्री तथा कात्यायनीका रूपमा समेत उल्लेख गरिएको पाइन्छ ।

छठीमाताको पूजा सुरु भएको सम्बन्धमा राजा प्रियव्रतको पौराणिक कथा प्रचलित छ । सन्तान नहुँदा दुःखी भएका राजा प्रियव्रतले महर्षि कश्यपको सल्लाहमा पुत्रेष्टि यज्ञ गराएका थिए । यज्ञपछि जन्मिएको शिशु मृतावस्थामा जन्मिएपछि राजा शोकमा डुबेका थिए । त्यसैबेला दिव्य देवी प्रकट भई मृत शिशुलाई जीवन प्रदान गरेको धार्मिक कथन छ । देवीको कृपाबाट प्रभावित राजाले षष्ठी देवीको स्तुति गरेपछि छठ पूजाको परम्परा सुरु भएको जनविश्वास रहेको छ ।

सूर्यको उपासनाले आरोग्य, ऊर्जा, तेज, समृद्धि र सकारात्मक चेतना प्राप्त हुने धार्मिक विश्वास छ । रामायण र महाभारतकालीन कथासँग समेत सूर्य उपासनाको सम्बन्ध जोडिएको पाइन्छ । श्रीरामले रावणसँगको युद्धमा विजय प्राप्त गर्नुअघि आदित्य हृदयस्तोत्रको पाठ गरेको तथा श्रीकृष्णका पुत्र साम्बले सूर्यको उपासनाबाट कुष्ठरोगबाट मुक्ति पाएको पौराणिक प्रसङ्गले यस पर्वको धार्मिक महत्वलाई थप उजागर गर्छ ।

चार दिन, चार विधि र कठोर आस्था

छठ पर्वको विशेषता यसको चार दिवसीय विधि हो । पुरोहित लालबाबु झाका अनुसार कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यसपर्वको प्रत्येक दिनको आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ । चैत महिनामा पनि यही विधिअनुसार छठ मनाउने परम्परा छ, जसलाई चैती छठ भनिन्छ ।

पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ वा ‘अरबा–अरबाइन’ भनिन्छ । यस दिन व्रतालुहरू नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्ध हुन्छन् । घरको सरसफाइ तथा पूजाको तयारी गरेपछि चोखो खाना ग्रहण गर्छन् । यस दिनदेखि नै व्रतालुले खानपानमा विशेष शुद्धता अपनाउँदै माछामासु, लसुन, प्याजलगायतका खाद्यवस्तु त्याग्ने गर्छन् ।

दोस्रो दिन अर्थात् पञ्चमीलाई ‘खरना’ भनिन्छ । यस दिन व्रतालुहरू दिनभरि निर्जला उपवास बसेर साँझ चन्द्रदर्शनपछि पूजा गर्छन् । नयाँ चुलोमा शुद्धतापूर्वक तयार पारिएको खीर, केरा र अन्य प्रसाद ग्रहण गरी परिवार तथा छरछिमेकलाई प्रसाद वितरण गरिन्छ । खरनापछि व्रतालुले कठिन निर्जला व्रत सुरु गर्छन् ।

तेस्रो दिन षष्ठीका दिनलाई ‘सझिया घाट’ भनिन्छ । यस दिन गहुँ र चामललाई परम्परागत जातो, ढिकी वा ओखलमा कुटेर तयार पारिएको पिठोबाट ठेकुवा, भुसुवा, कसारलगायतका प्रसाद बनाइन्छ । बाँसको सुप, डाला र अन्य भाँडामा उखु, नरिवल, केरा, अदुवा, फलफूल तथा विभिन्न कृषिउपज सजाएर साँझपख व्रतालु जलाशयमा पुग्छन् ।

अस्ताउँदो सूर्यलाई अर्ध्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । पर्वको चौथो दिन सप्तमीमा बिहान सबेरै व्रतालुहरू पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यसलाई ‘पारन’ भनिन्छ । बिहानको अर्ध्यसँगै चार दिनसम्मको कठिन व्रत सम्पन्न हुन्छ । त्यसपछि व्रतालुले प्रसाद ग्रहण गरी व्रत समापन गर्छन् ।

सामाजिक सद्भाव र समानताको सन्देश

छठ पर्वको सबैभन्दा सुन्दर पक्ष सामाजिक समावेशिता र समानताको सन्देश हो । जात, धर्म, वर्ग, लिङ्ग र आर्थिक अवस्थाका आधारमा कुनै भेद्भाव नगरी सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको आराधना गर्छन् । धनी–गरिब, सानो–ठूलो सबैले एउटै जलाशयमा उभिएर अघ्र्य अर्पण गर्ने परम्पराले सामाजिक समानताको सन्देश प्रवाह गर्छ ।

समाजशास्त्री नागेन्द्र दुबे सूर्य उपासनाको परम्परामा छठलाई विशिष्ट पर्वका रूपमा व्याख्या गर्नुहुन्छ । उहाँका अनुसार अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने भएकाले संसारका अन्य सूर्य उपासना परम्पराभन्दा छठको विशेष महत्व रहेको छ । छठले सामाजिक सम्बन्धलाई बलियो बनाउने गरेको छ । वर्षौंदेखि भेटघाट हुन नसकेका आफन्त, साथीभाइ र छिमेकीलाई एकै ठाउँमा भेट्ने अवसर यस पर्वले प्रदान गर्छ ।

केही वर्षअघिसम्म तराई–मधेशका समुदायको प्रमुख पर्वका रूपमा सीमित छठ अहिले राष्ट्रिय पहिचानको पर्व बन्दै गएको छ । पहाडी समुदायका महिला तथा अन्य समुदायका मानिससमेत श्रद्धापूर्वक छठ मनाउन थालेका छन् । कतिपय मुस्लिम समुदायका व्यक्तिहरू पनि यस पर्वको व्यवस्थापन र सामाजिक गतिविधिमा सहभागी हुने गरेका छन् । यसले छठलाई धार्मिक आस्थासँगै सामाजिक एकताको साझा उत्सवका रूपमा स्थापित गर्दै लगेको छ ।

संस्कृति, कृषि र सीपको जीवन्त सङ्गम

प्राज्ञ रामभरोस कापडीका अनुसार छठ पर्वले स्थानीय कृषि उत्पादन, परम्परागत सीप र ग्रामीण अर्थतन्त्रलाई जोडेको छ । उहाँले पर्वका लागि आवश्यकपर्ने सामग्रीमध्ये अधिकांश स्थानीय किसान, कुम्हाले र बाँसका हस्तकला सामग्री बनाउने समुदायको श्रमसँग सम्बन्धित रहेको बताउनुभयो । माटाका कलश, दियो, हात्ती तथा अन्य सामग्री कुम्हाले समुदायले तयार गर्छन् भने बाँसको चोयाबाट बनाइने सुप, डाला, नाङ्लो, डगरा, सुपली, छैँटी र बेनालगायतका सामग्री डोम समुदायका हस्तकर्मीले तयार पार्छन् ।

त्यस्तै, किसानले उत्पादन गरेका केरा, उखु, अदुवा, नरिवल, फलफूल, गहुँ र चामललगायतका कृषिउपज छठका प्रमुख प्रसादका रूपमा प्रयोग हुन्छन् । गहुँको पिठोबाट बनाइने ठेकुवा, चामल र सक्खरबाट तयार पारिने खीर तथा अन्य परम्परागत परिकारले मिथिलाको मौलिक खानपान संस्कृतिलाई उजागर गर्छन् । पर्वका अवसरमा गाउँसहरका सडक किनारमा लाग्ने बजारले स्थानीय उत्पादन र हस्तकलालाई उपभोक्तासम्म पुर्‍याउने अवसर प्रदान गर्छ । यसले किसान, व्यापारी, कुमाले, बाँसका सामग्री निर्माता तथा साना व्यवसायीको आम्दानी बढाउन सहयोग पुर्‍याउँछ ।

प्रकृतिप्रति कृतज्ञता र संरक्षणको सन्देश

छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष प्रकृतिप्रतिको सम्मान र संरक्षण हो । सूर्य, जल, भूमि, वनस्पति तथा कृषि उत्पादनलाई महत्व दिइने यस पर्वले मानव जीवन प्रकृतिसँग अभिन्न रूपमा जोडिएको सन्देश दिन्छ । खुला आकाशमुनि नदी, पोखरी र जलाशयमा उभिएर सूर्यलाई अर्ध्य अर्पण गर्ने परम्पराले पानी र वातावरणको महत्वलाई स्मरण गराउँछ । सूर्यको प्रकाशबिना कृषि उत्पादन र मानव जीवन सम्भव नहुने भएकाले किसानले वर्षभरि मिहेनेत गरेर उत्पादन गरेका अन्न तथा फलफूल सूर्यदेवलाई अर्पण गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्छन् ।

जनकपुरधामका गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका ऐतिहासिक जलाशय छठ पर्वका बेला श्रद्धालुले भरिने गर्छन् ।

यस्ता जलाशयको सरसफाइ, संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढ्ने गरेको छ । छठले सफा जलाशय, स्वच्छ वातावरण र सामूहिक जिम्मेवारीको महत्व पनि उजागर गर्छ । अस्ताउँदो सूर्यलाई अर्ध्य दिएर जीवनका कठिनाइप्रति धैर्य र उदाउँदो सूर्यलाई अघ्र्य दिएर नयाँ आशा तथा सम्भावनाको स्वागत गर्ने यस पर्वले मानव जीवनमा समानता, सहअस्तित्व र प्रकृतिप्रतिको कृतज्ञताको अनुपम सन्देश दिँदै आएको छ ।

  • धनुषा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

  • Post Thumbnail

    वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

  • जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

    जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

  • Post Thumbnail

    छठ व्रत बसेका व्रतालुले दिए अस्ताउँँदै गरेको सूर्यलाई अर्घ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम व्रतालु

    Post Thumbnail

    झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

    Post Thumbnail

    वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

    Post Thumbnail

    दमकल चालकलाई अग्नि नियन्त्रण तथा उद्धार तालिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution