
ख्वप (भक्तपुर), २६ कात्तिकः विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा मङ्गलबार आयोजित न्हुदँया भिन्तुना र्यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए । पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीको भनाइ छ ।
स्थानीय केपी छुस्याकीले पटाका पड्काइएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुम्दा मानिसमा विवेक हराउने गरेको टिप्पणी गर्नुभएको छ । उहाँले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको उल्लेख गर्नुभएको छ । त्यस्तै, अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका श्रव्यदृश्य सामग्रीका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।
मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाका प्रत्यक्षदर्शी राससकर्मी स्थलगत रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा पटाकाको चर्को आवाज र धुवाँले आसपासका सर्वसाधारण प्रभावित भएका थिए । धुवाँका कारण श्वास फेर्नसमेत कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना पनि देखिएको थियो । समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुन पाएन । उक्त पटाका मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ ।
घटनास्थलमा सुरक्षाकर्मी पनि उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू सङ्ख्यामा कम र पटाका पड्काउनेहरू धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए । उहाँका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।
टौमढीका स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका बासिन्दा प्रभावित भएको बताउनुभयो । राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्नसमेत नपाएको उहाँको भनाइ छ । चाडपर्व मनाउने नाममा गरिने यस्ता गतिविधिले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको उहाँले बताउनुभयो । पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्याउनुका साथै धुवाँका कारण घरभित्रै बस्नसमेत असहज भएको स्थानीयवासीको गुनासो छ ।
बारुदजन्य पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दमलगायत समस्या निम्तिन सक्छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पटाकाबाट निस्कने धुवाँमा रहेका विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् । यद्यपि, एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन । यसको जोखिम प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पाँचतल्ले मन्दिरजस्तो ऐतिहासिक सम्पदाका काठका संरचनामा आगोको झिल्को परेर आगलागी भए त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न स्थानीयवासीले उठाएका छन् । सम्पदाको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी भएकाले पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ छ ।
तिहारको अन्तिम दिन आज पनि यस्तै घटना नदोहोरियोस् र ऐतिहासिक सम्पदा तथा सर्वसाधारणको सुरक्षामा सबैले ध्यान दिऊन् भन्ने अपेक्षा स्थानीयवासीले गरेका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |