
जनकपुरधाम, २५ कात्तिकः धनुषाको बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई देशका विभिन्न स्थानमा सरकारी सेवामा कार्यरत १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न २०८३’ बाट सम्मानित भएका छन् ।
बटेश्वर नागरिक समाजले बटेश्वर गाउँपालिकाका पाँचवटै वडाका स्थायी बासिन्दा भई सरकारी सेवामा स्थायी रूपमा कार्यरत कर्मचारीलाई सम्मान गरेको हो ।
बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजित समारोहमा पहिलो चरणमा १२७ जना कर्मचारीलाई सम्मान गरिएको नागरिक समाजका संयोजक डा. सुनिल सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका पाँचवटै वडाबाट अनलाइन तथा प्रत्यक्ष रूपमा तथ्याङ्क सङ्कलन गरी सम्मानित हुने कर्मचारीको पहिचान गरिएको थियो ।
सरकारी सेवामा प्रवेश गरेका कर्मचारीको मनोबल बढाउने, जन्मभूमिप्रतिको अपनत्व र उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने तथा नयाँ पुस्तालाई लोकसेवा आयोगको प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।
कार्यक्रममा स्थानीय कृषि उपज, माटो तथा बाँसबाट निर्मित भाँडाकुँडा र अन्य सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो । स्थानीय उत्पादनको महत्त्व उजागर गर्ने उद्देश्यले आयोजित प्रदर्शनीका क्रममा स्थानीय उत्पादनमा योगदान पुर्याउने उत्पादकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’का अनुसार आगामी वर्षदेखि निश्चित मापदण्ड बनाएर सरकारी सेवा, कृषि, उद्योग, व्यवसाय, सञ्चारलगायत क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिको पहिचान र छनोट गरी ‘बटेश्वर रत्न’ बाट सम्मान गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतो, गाउँपालिका अध्यक्ष रामअशिष महतो, जनकपुरधामस्थित कबिर बालवात्सल्य आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोक, बटेश्वरका स्थायी बासिन्दा एवं महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक तथा सहसचिव रामप्रकाश महतो र हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतो (सीडीई) लगायतले सम्मान प्रदान गर्नुभएको थियो ।
सो अवसरमा ३३ जनाले रक्तदान गरेको ब्लड फर नेपालका अध्यक्ष सरोजकुमार महतोले जानकारी दिनुभयो ।
समाजले बटेश्वरको इतिहास, धार्मिक धरोहर तथा सम्पदा, सरकारी सेवा, कृषि, उद्योग र व्यवसायलगायतका क्षेत्रमा हासिल भएका उपलब्धि, सफलता र सङ्घर्षका कथा समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत वार्षिक रूपमा प्रकाशन गर्ने लक्ष्य राखेको समारोह सञ्चालक शत्रुधन शर्माले जानकारी दिनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |