
लमजुङ, २१ कात्तिकः कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे । कसैका लागि त्यो परदेशमा रहेका श्रमान्को खबर हुन्थ्यो त कसैका लागि सन्तान र आफन्तको सुखदुःख बुझ्ने माध्यम ।
हुलाकीको झोलाबाट निस्कने एउटा चिठीले महिनौँदेखिको प्रतीक्षा अन्त्य गथ्र्यो । अहिले भने हातले लेखिएका चिठीको ठाउँ मोबाइल फोन, म्यासेन्जर र सामाजिक सञ्जालले लिएका छन् ।
बेँसीसहर नगरपालिका–१० का ९३ वर्षीय लालबहादुर गुरुङले चिठीको प्रतीक्षा र त्यसले दिने खुसी अनुभव गर्नुभएको छ । भारतीय सेनामा करिब ३५ वर्ष सेवा गर्नुभएका उहाँका लागि घरबाट आउने चिठी परिवारसँग जोडिने महत्वपूर्ण माध्यम थियो ।
“घरबाट चिठी आउन पाँच–छ महिना लाग्थ्यो, कहिलेकाहीँ एक वर्ष पनि कुर्नुपथ्र्यो,” उहाँले विगत सम्झँदै भन्नुभयो । श्रीमतीले चिठी लेख्दा कतिपय कुरा सङ्केत र विशेष शैलीमा व्यक्त गर्ने गरेको उहाँको सम्झना छ ।
अहिले भने मोबाइलबाटै परिवारसँग तत्काल कुरा गर्न र तस्बिर हेर्न पाउँदा खुसी लाग्ने उहाँ बताउनुहुन्छ । मध्यनेपाल नगरपालिका–३, सूर्यपालकी ७० वर्षीया आशकुमारी गौतमको अनुभव पनि चिठीसँगै जोडिएको छ ।
श्रीमान् परदेशमा रहँदा घरपरिवारको खबर आदानप्रदान गर्ने मुख्य माध्यम चिठी थियो । उहाँका अनुसार सामान्य चिठीभन्दा रजिस्ट्ररी चिठी छिटो आइपुग्थ्यो ।
त्यतिबेला पढ्नलेख्न सहज नहुँदा विद्यालय जाने बालबालिकाको सहयोग लिएर चिठी लेख्ने र पढ्ने गरिन्थ्यो । श्रीमान्को जागिर स्थायी भएको खबर चिठीबाटै पाउँदा ठूलो खुसी लागेको उहाँ सम्झनुहुन्छ । “बेस्सरी भोक लागेको बेलामा भात खाएजस्तो आनन्द हुन्थ्यो,” उहाँले चिठी पढ्दाको खुसी सम्झँदै भन्नुभयो ।
मस्र्याङ्दी गाउँपालिका–३, ढंगैका पूर्णबहादुर गुरुङ भने हातले चिठी लेखेर पठाउने अनुभव खासै नभए पनि अहिले मोबाइल, म्यासेन्जर र सामाजिक सञ्जालमार्फत आफन्तसँग सम्पर्क गर्नुहुन्छ ।
उहाँका विचारमा प्रविधिले दूरी घटाए पनि हातले लेखिएको चिठीमा व्यक्त हुने माया र भावनाको छुट्टै महत्व हुन्छ । नयाँ पुस्ताले पुरानो चिठी लेख्ने परम्परासँग जोडिएका आत्मीयता र संस्कार बिर्सन नहुने उहाँ बताउनुहुन्छ ।
व्यक्तिगत चिठीको चलन घट्दै गए पनि हुलाक सेवाको आवश्यकता भने पूर्ण रूपमा समाप्त भएको छैन । जिल्ला हुलाक कार्यालय लमजुङका हुलाक अधिकृत श्यामविक्रम न्यौपानेका अनुसार अहिले व्यक्तिले व्यक्तिलाई पठाउने व्यक्तिगत तथा पारिवारिक चिठीको प्रयोग लगभग शून्यमा झरेको छ ।
यद्यपि सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका पत्राचार र विदेशबाट आउने पार्सलको ओसारपसार जारी छ । पहिले व्यक्तिगत चिठी, शोकपत्र, पोस्टकार्ड, पुस्तक, पत्रपत्रिका तथा सरकारी कागजात हुलाकका प्रमुख सामग्री थिए । अहिले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, सिमकार्ड, एटिएम कार्ड, पार्सल तथा अदालतका मिसिलजस्ता सामग्रीको प्राप्ति र वितरण हुँदै आएको उहाँले बताउनुभयो ।
लमजुङमा जिल्ला हुलाक कार्यालयसहित सात स्थानीय तहमा हुलाक कार्यालय र बेँसीसहरमा एउटा हुलाक काउन्टर सञ्चालनमा छन् । जिल्लाका ३६ वडामा ३६ वटा अतिरिक्त हुलाक कार्यालय छन् ।
जिल्लाभर हुलाकी तथा हल्काराका ३४ दरबन्दी कायम रहे पनि अवकाश भएका कर्मचारीको ठाउँमा नयाँ पदपूर्ति नहुँदा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको न्यौपानेले बताउनुभयो ।
आर्थिक वर्ष २०८२÷८३ मा लमजुङमा औसत प्रतिमहिना छवटा पार्सल वितरण भएका थिए । त्यस्तै, प्रतिमहिना आठदेखि नौवटा रजिस्ट्ररी पुलिन्दा तथा ईएमएससम्बन्धी सामग्रीको दर्ता र बाहिर पठाउने काम भएको थियो ।
सोही आर्थिक वर्षमा जिल्ला हुलाक कार्यालयले रु आठ लाख २५ हजार ८४७ राजस्व सङ्कलन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत कम हो । न्यौपानेका अनुसार मोबाइल र इन्टरनेटको विस्तारले परम्परागत चिठीपत्रको काम घटाए पनि सुरक्षित पार्सल वितरण तथा सरकारी र संस्थागत कागजात ओसारपसारमा हुलाकको भूमिका कायमै छ ।
आगामी दिनमा हुलाकलाई डिजिटल सरकारी सेवा, पार्सल वितरण, विद्युतीय व्यापार तथा नागरिक सेवा उपलब्ध गराउने आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
कुनै बेला हुलाकीको झोलामा बोकेर गाउँगाउँ पु¥याइने चिठीले मानिसका भावना र खबर जोड्थ्यो । अहिले मोबाइलको पर्दाबाटै ती खबर क्षणभरमै आदानप्रदान हुन्छन् । सञ्चारको माध्यम फेरिए पनि आफ्ना मान्छेको खबर पाउने चाहना भने उस्तै छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |