
काठमाडौँ, १९ कात्तिक: नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संस्थाको पहिचान, उद्देश्य, गौरव र संस्थागत प्रतिबद्धता अभिव्यक्त हुने ‘प्रज्ञा-प्रतिष्ठान गान’ रचना गर्न नेपाली स्रष्टा तथा गीतकारसँग आह्वान गरेको छ ।
प्रतिष्ठानले सूचना जारी गर्दै मौलिक शब्द र सिर्जनात्मक भाव समेटिएको गीत/रचना पेस गर्न आग्रह गरेको हो । यसअघि आह्वान गरिएको गीत/रचना पेस गर्ने समयावधि १५ दिन थप गरी पुन: आवेदन माग गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार गीतका शब्द मौलिक र सिर्जनात्मक हुनुपर्नेछ । गीतमा नेपालको समृद्ध एवं विविधतापूर्ण कला-संस्कृति, मौलिक सांस्कृतिक परम्परा, राष्ट्रिय गौरव, एकता तथा राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरिएको हुनुपर्ने छ ।
त्यस्तै, गीतले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको उद्देश्य, पहिचान, गौरव तथा संस्थागत प्रतिबद्धता झल्काउनुपर्नेछ । गीत राष्ट्रिय भावना, सांस्कृतिक एकता र नेपाली मौलिकतासँग सम्बन्धित हुनुपर्ने सूचनामा उल्लेख छ ।
यसैगरी एक जना स्रष्टाले एउटा मात्र गीत/रचना पेस गर्न सक्ने जनाएको छ । यसअघि प्रकाशित वा प्रयोग भइसकेको रचना स्वीकार नहुने जनाइएको ।
इच्छुक स्रष्टाले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र इमेल ठेगाना स्पष्ट उल्लेख गरी गीत इमेलमार्फत वा प्रतिष्ठानको कार्यालय नक्साल, काठमाडौँमा बुझाउन सक्नेछन् ।
गीत छनोट, आवश्यक परिमार्जन तथा प्रतिष्ठानको गानका रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार प्रतिष्ठानमा निहित रहने सूचनामा उल्लेख गरिएको छ । छनोट भएको गीतलाई उचित पारिश्रमिक प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |