
काठमाडौँ, १९ कात्तिकः आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन प्रगति उत्साहजनक रहेको पाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु २३९.३ करोड खर्च भएको छ ।
त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताउनुभयो ।
उहाँका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर)ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले यस अवधिमा रु ४३.७ करोड खर्च गरेको छ । जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।
महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यी चार ठूला आयोजनाले मात्र रु १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो ।”
विभागका अनुसार प्रगन्ना–बड्कापथ (दाङ)ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।
महानिर्देशक रजौरियाले भन्नुभयो, “तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ ।”

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |