
महोत्तरी, १७ कात्तिक : मिथिला क्षेत्रमा निष्ठा र भक्तिको पर्व छठको तयारी अघि बढेको छ ।
पर्वको मुख्यपक्ष अर्घ दिने घाट निर्माणका लागि अहिले जलाशय परिसर सरसफाइको कार्य थालिएको हो । यस वर्ष यही कात्तिक २९ गते छठ पर्व मनाइँदै छ । छठमा धार्मिक महत्त्वका नदी, तलाउ, पोखरी र कुण्डलगायतका जलाशयमा स्नान र सूर्यदेवलाई अघ्र्य दिइने परम्परा छ । अहिले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ वटै स्थानीय तहका बस्ती नजिकका जलाशयमा धमाधम घाट निर्माणको तयारी अघि बढेको छ । त्यस क्रममा पौराणिक कालदेखि नै धार्मिक महत्त्वका जलेश्वरस्थित तलाउ पुरन्दरसर, वरुणसर र भार्गवसरको सरसफाइ थालिएको छ ।
रामायणकालमा राम सीताको विवाहमा वेदी बनाउन माटो खनिएको विश्वास गरिने मटिहानी–७ स्थित लक्ष्मीसागर र बलवा–९ धमौरास्थित ध्रुवकुण्डसहितका जलाशय धमाधम सरसफाइ गरिँदै छन् । यस्तै मटिहानी र भारतको मधवापुरका बासिन्दाले बिग्ही नदीमा संयुक्त घाट बनाउँदै आएका छन् । त्यसका लागि नेपाल–भारत सीमा क्षेत्रस्थित त्यस नदीमा करिब एक किलोमिटर लम्बाइमा छठ घाट निर्माणको काम थालिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।
जिल्लाका ४० भन्दा बढी बस्तीलाई छुदै भारत झर्ने रातु नदीका ५० भन्दा बढी घाट निर्माण गरिँदै छन् । यस्तै माण्डवीगङ्गा (मडहा), स्वर्णमती (सोनी) र वरुणवती (बेलगाछी) नदी तटमा पनि घाट निर्माणका तयारी थालिएका छन् । छठ पर्वका लागि घाटमा पण्डाल, खानेपानी, शौचालय र बिजुली आपूर्तिका काम प्राथमिकताका हुन्छन् । ती काम कतिपय ठाउँमा स्थानीय तह, सामाजिक सङ्घसंस्था र समुदायकै तत्परतामा हुने गरेको लोहारपट्टी–४ का बासिन्दा सामाजिक अगुवा जीतेन्द्र चौधरीको भनाइ छ ।
जनआस्थाको पर्व छठमा घाट निर्माणको पक्ष निकै महत्त्व रही आएको छ । बर्तालुले सपरिवार घाटमै पुगेर पवित्र स्नान गर्ने र पर्वको मुख्यपक्ष अस्ताउँदा र उदाउँदा सूर्य र षष्ठी (छठी) देवीलाई अर्घ दिइने स्थापित चलनले त्यो काम धार्मिक महत्त्वको रहँदै आएको जलेश्वर–५ पतैलीका बासिन्दा मैथिल लोकसंस्कृतिका जानकार (संस्कृतिविद्) अवकास प्राप्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
मिथिलामा चन्द्रमासको कात्तिक कृष्णपक्ष सुरु भएसँगै दीपावली पर्वको तयारी सुरु हुन्छ । छठ कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म चार दिनको हुने भए पनि यससँग जोडिएका तयारी दीपावलीसँगसँगै गरिन्छन् । मिथिलामा लोकपरम्परा र संस्कृतिसँग दीपावली र छठ मनमनसँग जोडिएको हुँदा अहिले सिङ्गो मिथिला क्षेत्र दीपावली र छठमय बनेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |