
काठमाडौँ, १७ कात्तिक : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ ।
क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ ।
“दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा प्राधिकरण हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । दुर्घटनामा घाइते हुनुभएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना समेत गरिएको छ ।
आज बिहान ८ः१२ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन—एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टरहरू दुर्घटनामा परेका थिए ।
दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार दुई विदेशी नागरिक सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ । साथै मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको क्यानले जानकारी दिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |