
काठमाडौँ, ११ कात्तिकः जिल्ला प्रहरी परिसर काठमाडौँले उपत्यकामा सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ का क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका १३ जना फरार कसुरदारलाई पक्राउ गरेको छ ।
अदालतबाट दण्ड तथा सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका र फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई तीव्र बनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार उपत्यकामा शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा फरार प्रतिवादी र कसुरदारलाई कानुनी दायरामा ल्याउने उद्देश्यले विशेष प्रहरी परिचालन गरिएको हो ।
उहाँले भन्नुभयो, “स्विप अपरेसनको उद्देश्य शङ्कास्पद गतिविधिमाथि निगरानी बढाउनु मात्र नभई सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार प्रतिवादी तथा कसुरदारको खोजी गर्नु र सर्वसाधारणलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्ने अवस्था सिर्जना गर्नु हो ।”
प्रहरीका अनुसार विशेषगरी सार्वजनिक यातायातका साधन, बसपार्क, भीडभाड हुने बजार क्षेत्र, सरकारी कार्यालय तथा सेवाग्राहीको बढी उपस्थिति रहने स्थानमा सुरक्षा निगरानी बढाइएको छ । ती क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट, दुव्र्यवहार, ठगी तथा बिचौलियाका गतिविधि नियन्त्रण गर्न सादा पोसाकसहितका प्रहरी परिचालन गरिएको जनाइएको छ ।
प्रवक्ता थापाले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने गरी अभियान सञ्चालन गरिएको बताउनुभयो ।
प्रहरीले विशेष सुरक्षा अभियानमार्फत सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नाका साथै विभिन्न अपराधमा संलग्न भई फरार रहेका व्यक्तिलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्ने विश्वास लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका व्यक्तिको मुद्दा तथा कानुनी अवस्थाबारे आवश्यक प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
उपत्यकामा शान्तिसुरक्षा सुदृढ बनाउन, आपराधिक गतिविधि न्यूनीकरण गर्न तथा सर्वसाधारणमा सुरक्षाको अनुभूति गराउन विशेष ‘स्वीप अपरेसन’, निगरानी र चेकजाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |