
नारायणगढ (चितवन), ११ कात्तिकः शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो । इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्णपालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न निर्देशन दिएको हो ।
इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियममा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सचेत गराइएको बताउनुभयो ।
जिल्लाका केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भनी विभिन्न माध्यमबाट गुनासा प्राप्त भएकाले यस विषयमा सचेत गराइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो । यसको पालना गर्न सबैले पर्दछ ।” शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा भएका व्यवस्थाको स्मरण गराउँदै इकाईले शिक्षक तथा कर्मचारीलाई कानुनी प्रावधानको पालना गर्न आग्रह गरेको हो ।
उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको सम्बन्धमा खलल पार्नेगरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको निर्देशनमा उल्लेख छ ।
शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिताको पालना गरे÷नगरेको विषयमा प्रभावकारी नियमन तथा अनुगमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |