
दमौली (तनहुँ), १० कात्तिकः प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र धार्मिक जागरण अभिवृद्धि गर्ने उद्देश्य राखेर आइतबारदेखि सुरु भएको रथयात्रा आज दमौली आइपुगेको हो ।
दमौली आइपुगेको रथयात्रालाई व्यास नगरपालिका–३ प्रशासनचोकमा विशेष कार्यक्रम आयोजना गरी स्वागत गरिएको छ । स्वागत कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले धार्मिक जागरण अभिवृद्धिका लागि व्यास नगरपालिका सधैँ क्रियाशील रहेको बताउनुभयो । नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौली र मुक्तिनाथधामलाई धार्मिक पर्यटनका माध्यमबाट जोड्न सकिए यस क्षेत्रको धार्मिक विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।
आम नेपालीमा धार्मिक आस्था, आध्यात्मिक चेतना र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी श्रीकृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
दमौलीबाट डुम्रे–मुग्लिन–धादिङ–थानकोट–कलङ्की–स्वयम्भू–बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । बुधबार काठमाडौँ नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।
कात्तिक महिनाभर सञ्चालन हुने रथयात्रा सकिएपछि आगामी मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा विशाल धन्याचलसहित अष्टाच, श्रीराम अभिमन्त्रित चामलका साथमा चार वेद १८ पुराणसहित वैदिक पारायण, हवन, कथाप्रवचन, दैनिक १०८ कन्यापुजन, बटुकपुजनलगायतका कार्यक्रम आयोजना गरिनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |