
मुस्ताङ, ८ कात्तिक : हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ । दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।
गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक ध्वंस्त हुँदा दुई सातासम्म पूर्ण रुपमा सडक अवरुद्ध बनेको थियो । बर्सेनि सोह्र श्राद्धका बेला हजारौ तीर्थालुहरु मुस्ताङ आउने गरेका भएपनि यसपटक सडक असहजताका कारण पर्यटक उपस्थिती हुन सकेको थिएन ।
मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसंगै बेनी—जोमसोम सडकमार्गका होटलहरु पर्यटकले भरिन थालेका छन् । यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वायनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ ।
तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आउनुभएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताउनुभयो । ललितपूरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरलानाका घुम्न आएको बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |