
धनुषा, ८ कात्तिकः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ ।
आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिनुभयो । उहाँले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताउनुभयो ।
“ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन । यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ”, मन्त्री मेहताले भन्नुभयो । उहाँले निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाउँदै आए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयनप्रति आशङ्का व्यक्त गर्दै आएका छन् ।
निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताउनुभयो । उहाँले आश्वासनभन्दा निर्माण कार्यको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
“ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन् । अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ”, उहाँले भन्नुभयो । निरीक्षणमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |