
कास्की, ८ कात्तिकः पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ ।
विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा दुई लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको हो ।
खोप कार्यक्रमबाट खोरेत, पिपिआर, लम्पी स्किन, रेबिजलगायत पशुमा लाग्ने रोगको जोखिम न्यूनीकरणमा सहयोग पुगेको कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले जानकारी दिनुभयो । “पशुमा महामारीजन्य रोगको सङ्क्रमण नियन्त्रण गर्न समयमै खोप लगाउनु महत्वपूर्ण हुन्छ । नियमित खोप कार्यक्रमले पशुमा रोग लाग्ने र फैलिने जोखिम घटाउनाका साथै पशुको स्वास्थ्य संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि र पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग नियन्त्रणमा पनि सहयोग पुगेको छ । पूर्ण खोप कार्यक्रमपछि विगतका तुलनामा खोरेत लगायतका महामारीजन्य रोग धेरै नै कम भएको छ,” कार्यालय प्रमुख डा न्यौपानेले भन्नुभयो ।
कार्यालयका अनुसार गत आवमा खोरेत रोगविरुद्ध ८० हजार ६२६, पिपिआरविरुद्ध ८७ हजार ४७२, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७, रेबिजविरुद्ध आठ हजार ४२९, क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ र डिएचपिपिएल खोप एक हजार ४०० मात्रा लगाइएको थियो ।
पूर्ण खोप कार्यक्रमका लागि गत वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरिएकामा रु एक करोड ३४ लाख ९२ हजार ७५० खर्च भएको थियो । खोप कार्यक्रम सञ्चालनका लागि जिल्लामा १७२ जना खोपकर्तालाई परिचालन गरिएको थियो । कार्यालय प्रमुख डा न्यौपानेले भन्नुभयो,“कार्यक्रमले पशुपालकलाई पशुमा रोग लागेपछि उपचार गर्ने अवस्थाबाट रोग लाग्न नदिन पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको छ ।”
पशुमा महामारीजन्य रोग फैलिँदा पशु मर्ने, उत्पादन घट्ने र पशुपालकले आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले नियमित खोप, रोगको निगरानी र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने हुन्छ । पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम घटाउन पनि पशु स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको पशु विकास अधिकृत सहदेव पौडेलले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |