
काठमाडौँ, ६ कात्तिक : पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ । फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए । उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए । उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो । ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन् । उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तरराष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् । उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन् । फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ । कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ । एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |