
गण्डकी, ५ कात्तिक : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा रु तीन करोड ८६ लाख ५१ हजार ९०८ सङ्कलन गरेको छ । कार्यालयले जडीबुटी, काठ दाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा रु पाँच करोड ७७ लाख १६ हजार ७८१ र आव २०८०/८१ रु तीन करोड ९० लाख ९८ हजार ९९१ सङ्कलन भएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेका ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा, ढुङ्गागिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “प्राकृतिक स्रोतको उपयोगबाट सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन्”, उहाँले भन्नुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमुल्य यार्सागुम्बालगायतका जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्वपूर्ण टेवा पुगेको छ ।
आयोजना कार्यालयले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च गर्ने गरिएको आयोजना कार्यालयले जनाएको छ ।
कार्यालयले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्रै वार्षिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेको छ । संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |