
दमौली (तनहुँ), २९ असोजः डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ४६ वन्यजन्तुको उद्धार गरेको छ । अधिकांशलाई जीवितै उद्धार गरिएको छ भने केही मृत तथा घाइते अवस्थामा फेला परेका हुन् ।
जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार गत आर्थिक वर्षमा चितुवा, चरीबाघ, मृग, अजिङ्र, सर्प, गिद्ध, बाँदर, स्याललगायत वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरिएको हो । कार्यालयले जीवित उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छाड्ने गरेको छ भने मृत फेला परेका वन्यजन्तुलाई सुरक्षित रूपमा गाड्ने गरेको उहाँले बताउनुभयो ।
सो अवधिमा दुई चितुवा मृत अवस्थामा फेला परेका थिए भने एउटा चितुवालाई जीवितै उद्धार गरिएको थियो । एउटा चितुवा घाइते अवस्थामा फेला परेको थियो । त्यसैगरी एउटा चरीबाघ जीवितै उद्धार गरिएको रानाभाटले बताउनुभयो ।
त्यस्तै, पाँच वटा मृग जीवितै उद्धार गरिएका थिए भने एउटा मृग मृत अवस्थामा फेला परेको थियो । चार अजिङ्गर, २७ सर्प, एउटा गिद्ध र तीन भार्से जीवितै उद्धार गरिएको रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा स्याल भने मृत अवस्थामा फेला परेको थियो ।
वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने, घाइते अवस्थामा भेटिने वा अन्य कारणले जोखिममा पर्ने घटनामा कार्यालयले उद्धार तथा व्यवस्थापनको काम गर्दै आएको छ । जीवित उद्धार गरिएका वन्यजन्तुलाई प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाड्ने गरिएको कार्यालयले जनाएको छ ।
वन्यजन्तुबाट मानिस, पशुधन तथा कृषिबालीमा भएको क्षतिबापत डिभिजन वन कार्यालय तनहुँले सो अवधिमा रु सात लाख ३९ हजार ३७० राहत वितरण गरेको छ । बाँदर र भालुको आक्रमणबाट मानिस घाइते भएकालाई राहतस्वरूप रु दुई लाख १८ हजार एक सय वितरण गरिएको छ ।
त्यसैगरी, वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई रु पाँच लाख सात हजार राहत वितरण गरिएको छ । पशुधन क्षतिअन्तर्गत ५१ बाख्रा, एउटा गोरु र एउटा पाँडा क्षति भएको कार्यालयले जनाएको छ ।
वन्यजन्तुबाट कृषिबालीमा पुगेको क्षतिबापत रु १४ हजार दुई सय ५० राहत वितरण गरिएको छ । बाँदरले मकैबालीमा क्षति पुर्याउँदा किसान प्रभावित भएको कार्यालयको विवरणमा उल्लेख छ ।
वन्यजन्तुको उद्धार तथा क्षतिको राहत वितरणले जिल्लामा मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनको आवश्यकता देखाएको छ । वन्यजन्तु बस्तीमा प्रवेश गर्दा मानिसको सुरक्षामा जोखिम बढ्नुका साथै पशुधन र कृषिबालीमा समेत क्षति पुग्ने गरेको रानाभाटले बताउनुभयो ।
वन्यजन्तुको संरक्षणसँगै स्थानीय बासिन्दाको सुरक्षा र जीविकोपार्जनमा पर्ने असर न्यूनीकरण गर्नु आवश्यक देखिएको उहाँको भनाइ छ । डिभिजन वन कार्यालय तनहुँले वन्यजन्तु उद्धार र व्यवस्थापनसँगै प्रभावितलाई राहत उपलब्ध गराउने काम गर्दै आएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |