
राँझा (बाँके), २९ असोजः पछिल्लो केही दिनयता गाँउघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् ।
नेपालगञ्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका लागि भने यस वर्षको दसैँ खुसी होइन आँसु र पिरलो बोकेर आएको छ ।
आमाबुवा आराम दमाईं र उजना दमार्इं भोटेकोशीको बाढीमा बेपत्ता भएको आज ५० दिन पुगिसकेको छ । सबैका घरमा आमाबुवाको हातबाट टीका लगाउने र मीठोमसिनो खाने चटारो हुँदा ती तीन कलिला बालबालिका भने आमाबुवा फर्किने आशा र निराशामा दिन बिताइरहेका छन् ।
“आमाबुवा फर्किएर आउने आशामा बसेको दुई महिना हुन लाग्यो, केही अत्तोपत्तो भएन । दसैँ आयो, आमाबुवा आउनुभएन”, जेठा छोरा सुभास भक्कानिँदै भन्नुभयो्, “बाढीले आमाबुवालाई बेपत्ता बनाएपछि हामी पूरै सहाराविहीन भयौँ । दसैँ आउँदा आमाबुवाको झन धेरै यादले सताइरहेको छ ।”
नेपालीको महान् पर्व बडादसैँ घरआँगनमा आइपुगेको छ तर, बाढीमा परी बेपत्ता आराम दमाईं र उजना दमाईं हालसम्म पनि नफर्किदा सहाराविहीन उहाँका छोराछोरीमा निराश छन् ।
मूल थलो बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगञ्जको मनिकापुरस्थित थपुवामा बसाइँ सरेका आराम दमाईं र उजना दमार्इंका लागि हन्डर र सङ्घर्ष नयाँ कुरा थिएनन् । तर, आफ्ना सन्तानले आफूले जस्तै अभाव र दुःख भोग्न नपरोस् भनेर उनीले एउटा ठूलो र सुन्दर सपना बुनेका थिए, छोराछोरीलाई काठमाडौँमा राखेर राम्रो शिक्षा दिने ।
नेपालगञ्जमा सोचेजस्तो रोजगारी नपाएपछि यो दम्पती रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्न पुगेको थियो । दिनरात पसिना बगाएर कमाएको रकमले काठमाडौँमा कक्षा ९ मा पढ्ने सुभास, कक्षा ६ मा पढ्ने अश्विन र कक्षा ४ मा पढ्ने सानी बहिनी स्मारिकाको उज्ज्वल भविष्यको जग बसिरहेको थियो ।
“आमा–बुवाले रसुवाबाट दुःख गरेर पैसा पठाइदिनुहुन्थ्यो, हामी यहाँ ढुक्कले पढ्थ्यौँ”, छोरा सुभासले भन्नुभयो, “अहिले बाढीले दुवैजनालाई बेपत्ता बनाएको छ, हामी सहाराविहीन भयौँ । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।” यो शोक केबल एउटा घरमा मात्र सीमित छैन ।
उक्त बाढीमा परी थपुवा गाउँका शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय पनि बेपत्ता छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता व्यक्तिहरुको खोजीकार्य र बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि आफूहरुले काम गर्दै आएको जानकारी दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, रसुवाबाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म पनि बेपत्ता छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |