
दमौली (तनहुँ), २७ असोज : तनहुँ जलविद्युत् आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भइरहेको छ ।
शौचालय सुविधासहितको दुईतले विद्यालय भवनमा छ वटा कक्षाकोठा रहनेछन् । भवन निर्माणका लागि गत असार २६ गते व्यास–२, दमौली, तनहुँस्थित बेलु निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको कूल रकम रु एक करोड २० लाख ६८ हजार ७२३ रहेको छ । विसं २०८४ पुस २५ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण अवधि तोकिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
नयाँ विद्यालय भवन नेपाल सरकारका विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिनेछ । भवनले विद्यार्थीहरूका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यस पहलले आयोजनाको प्रभाव क्षेत्रभित्र सामाजिक पूर्वाधार सुधार तथा दिगो सामुदायिक विकासमा योगदान पुर्याउने आयोजनाको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको भण्डारीको भनाइ छ ।
भवन निर्माण सम्पन्न भएपछि आयोजना प्रभावित समुदायका विद्यार्थीका लागि थप व्यवस्थित तथा गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध हुनेछ । यसबाट अनुकूल सिकाइ वातावरण सिर्जना हुनुका साथै आसपासका समुदायको दीर्घकालीन शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा योगदान पुग्ने विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनुभयो ।
आयोजनाको आर्थिक सहयोगमा यसअघि व्यास नगरपालिका–५, बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालय तथा भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयका भवन निर्माण गरिएका छन् । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारलगायतका क्षेत्रमा हालसम्म ९८ वटा योजना सम्पन्न भएका छन् भने नौ वटा योजना निर्माणाधीन कार्यान्वयनको क्रममा रहेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |