
चितवन, २७ असोजः पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ । रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो ।
पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ । नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उहाँले बताउनुभयो । न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो । उहाँले भन्नुभयो, “परीक्षण सफल भयो भने कृषकलाई अङ्गुरखेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ ।”
सोनाका ब्ल्याक जातको अङ्गुर किस्मिस बनाउन प्रयोग गरिन्छ भने ग्रिन फलफूलका रुपमा खान प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले रु पाँच लाखको लागतमा आफ्नै निगरानीमा परीक्षण गरिरहेको छ । यसलाई जाइका नेपालले प्राविधिक सहयोग गरेको उहाँले बताउनुभयो । गत असारमा अङ्गुरको बिरुवा ल्याएर रोपिएको हो । रोपेको एक वर्षपछि उत्पादन दिन थाल्ने उहाँले जानकारी दिनुभयो ।
अहिले अङ्गुर रोपिएको ठाउँको रेखदेखका लागि जाइकाले एक जना स्वयंसेवी खटाएको छ । जसले नियमित अङ्गुरको रेखदेख र वृद्धिविकासका बारेमा ध्यान दिने गरेको उहाँले बताउनुभयो । अङ्गुरको वृद्धिविकास अहिले राम्रो भएको बताउँदै उहाँले भावि दिनमा उत्पादन कस्तो हुन्छ हेर्न बाँकी रहेको बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कृषि र पर्यटन जोड्नका लागि पालिकाले परीक्षण थालेको बताउनुभयो । पर्यटकीय नगरी सौराहा रत्ननगरमा पर्दछ । यहाँ आउने पर्यटकलाई अङ्गुर फारम घुमाएर कृषिसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो । परीक्षण सफल भएमा यसलाई विस्तार गर्दै लगेर उद्योगका रुपमा विस्तार गर्ने योजनाअनुसार काम गरिएको उहाँले बताउनुभयो । धानखेतीमा भन्दा यसमा आम्दानी लिन सजिलो र बढी आम्दानी हुने भएकाले खेती गरिएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |