
काठमाडौँ, २२ असोजः प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति, राससको प्रतिनिधिमण्डसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उहाँले भन्नुभयो, “हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ ।”
स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचार पनि आएको छ नी भन्ने प्रश्नमा उहाँको भनाइ थियो, “मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन । हाम्रो संवैधानिक प्रावधानअनुरुप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो । तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ । त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ ।”
आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहनेगरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उहाँको भनाइ थियो ।
स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो भन्ने प्रश्नमा उहाँको भनाइ थियो, “हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो । त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ । त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन । सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो ।”
राससले विगतका निर्वाचनमा सकारात्मक एवं निर्वाचनमैत्री माहोल सिर्जना गर्न सशक्त एवं नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्ने विषय जानकारीमा रहेको उल्लेख गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त कार्कीले आगामी दिनमा पनि रासससँग सहकार्य गर्न आयोग तयार रहेको स्पष्ट गर्नुभयो ।
त्यस अवसरमा आयोग र राससबीचको सम्बन्धसहित सहयोग, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो । सो छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबरा, धु्रवराज वाग्ले पनि उपस्थित हुनुहन्थ्यो ।
त्यसैगरी, राससका महाप्रबन्धक सन्दीप राई, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार शाखा प्रमुख कृष्ण अधिकारी र निमित्त प्रशासन प्रमुख भरत केसीको उपस्थिति थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |