
काभ्रेपलाञ्चोक, २१ असोजः जिल्लामा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब ३०० योजना कार्यान्वयनको चरणमा छन् ।
आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत कुल २९१ योजना कार्यान्वयनमा ल्याइएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गतका योजनामध्ये २७१ सडक, आठ सडक–पुल तथा १२ मर्मतसम्भारसम्बन्धी योजना सञ्चालनमा छन् । योजनाको लागतअनुसार वर्गीकरण गरी बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख इन्जिनियर वीरेन्द्रकुमार बज्राचार्यका अनुसार रु २० लाखसम्मका १२३ सडक योजनाका लागि रु २४ करोड ५० लाख, रु २० लाखदेखि रु एक करोडसम्मका ११२ सडक योजनाका लागि रु ३९ करोड ७५ लाख तथा रु एक करोडदेखि रु दुई करोडसम्मका ११ सडक योजनाका लागि रु एक अर्ब २३ करोड ६० लाख विनियोजन गरिएको छ ।
त्यस्तै, रु दुई करोडभन्दा माथिका चार सडक योजनाका लागि रु २२ करोड तथा स्रोत सहमति आवश्यक पर्ने २१ सडक योजनाका लागि रु २६ करोड ४९ लाख विनियोजन गरिएको छ । सडक–पुल तथा मर्मतसम्भारतर्फ बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले योजनाको लागत अनुमान र स्वीकृतिको कामलाई तीव्रता दिएको छ । यस्तै, रु एक करोडसम्मका ३० योजनाको लागत अनुमान स्वीकृत भइसकेको बज्राचार्यले बताउनुभयो ।
यसैगरी, असोजभित्र रु २० लाखसम्मका ८०, रु एक करोडसम्मका ७० र रु दुई करोडसम्मका ११ योजनाको लागत अनुमान तयार गर्ने लक्ष्य राखिएको छ ।
कार्यालयले असोजभित्रै रु एक करोडसम्मका १२० सडक योजनाको ठेक्का सूचना प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । सडकतर्फ भुम्लु गाउँपालिकाको हवेली–सापिङ–सिम्थली–बेगसिम्ले सडकका लागि रु आठ करोड, बोहोरेदोभान पुल–झिकु खोला करिडोर–खहरेघाट सडकका लागि रु एक करोड र धुलिखेलको चप्लेटी–सिरानटोल–काँसीभञ्ज्याङ सडकका लागि रु एक करोड विनियोजन गरिएको छ ।
मण्डनदेउपुरको पाउँटार औद्योगिक ग्राम सडकका लागि रु ८५ लाख स्रोत सहमति हुन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयले चालु आवमा चारवटा पक्की पुल निर्माणका लागि स्रोत सहमतिको प्रक्रिया अघि बढाएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |