
धादिङ, २३ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु स्थित फुर्केखोलामा पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार वैकल्पिक सडक बुधबारपनि १० घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै सडकको थप मर्मतसम्भार गर्नुपर्ने भएकाले भदौ २४ गते बुधबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उक्त मार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण फुर्केखोलास्थित पक्की पुल बगाएपछि पृथ्वी राजमार्गमा आवागमन प्रभावित भएको थियो। त्यसपछि सवारी सञ्चालनका लागि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो।
लगातार सवारी चापका कारण उक्त सडकमा थप मर्मतसम्भार आवश्यक देखिएकाले निश्चित समयका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक बन्द रहने अवधिमा यात्रु तथा सवारी चालकलाई धादिङबेशी–सुनौलाबजार–भोरले–कोसिखोला–फोसेटार–कल्लेरीटार वैकल्पिक मार्ग वा अन्य उपयुक्त वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
वैकल्पिक सडक बन्द हुँदा धादिङ हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीको यात्रा समय र मार्गमा असर पर्न सक्ने भएकाले प्रशासनले यात्राअघि सडकको अवस्थाबारे जानकारी लिएर निस्कन आग्रह गरेको छ। सडक मर्मत सम्पन्न भएपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार मार्गमा पुनः सवारी सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |