
म्याग्दी, ९ मङ्सिरः हुरीबतासका कारण म्याग्दी भएर मुस्ताङमा आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् अवरुद्ध बनेको छ ।
म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोबाङ खण्डमा मङ्गलबारको हुरीबतासले विद्युत्का पोल ढलाएको र तार चुडिँदा ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत मुस्ताङ जिल्लाभर आपूर्ति हुने विद्युत् सेवा अवरुद्ध बनेको हो । विद्युत् अभावमा पर्यटकीय जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ ।
मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नं वडामा विद्युत् आपूर्ति तथा वितरण गर्दै आएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँले हुरीबतासले क्षति पुर्याएको लाइन मर्मतको काम भइरहेको जानकारी दिनुभयो ।
काभ्रेदेखि घाँसा खण्डको जङ्गल क्षेत्रमा मङ्गलबार साँझसम्म लाइन मर्मतका लागि खटिएका प्राधिकरणका प्राविधिक र मजदुरको टोलीले आज पनि बिहानैदेखि निरन्तरता दिएको उहाँले बताउनुभयो । हुरीबतासका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख र घारमा सुन्तलाको दाना झारेर क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका–३ का वडासदस्य दुर्गादत्त सुवेदीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार नारच्याङमा एक र काभ्रे गाउँमा तीनवटा घरको छानो हुरीबतासले उडाएको छ ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम् चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |