
काठमाडौँ, ९ मङ्सिरः पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गर्नुभएन । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उहाँको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो ।
नेपालमै जन्मिनुभएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहनुभएको छ । उहाँको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उहाँ थप चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ ।”
पम्फाका अनुसार उहाँको माइती गाउँमा घुम्दै आएका एक युवकसँग विवाह भएको थियो । १० सन्तानमध्ये जेठी उहाँको परिवार गरिबीको चपेटामा थियो । लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उहाँको विवाह गरिदिनुभएको थियो । “केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,” पम्फाले भन्नुभयो, “न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ ।” त्यसपछि सिलाइ र मजदुरी गर्दै उहाँको दाम्पत्य जीवन बित्यो ।
रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौँ आउनुभएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ । नागरिकता नहुँदाको समस्या उहाँले त्यतिबेला अझ बढी भोग्नुपर्यो, जतिबेला छोराछोरीको नागरिकता र जन्मदर्ता पनि बनाउन सम्भव भएन । अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानबाट पनि वञ्चित छन् ।
“आखिर म पनि यही देशको नागरिक हुँ । मेरो जन्मथलो यही देश हो । मेरो नागरिकता किन बन्दैन ? बुझ्नै सकिनँ,” उहाँले भावुक हुँदै भन्नुभयो ।
नातिनातिनासम्म नागरिकताविहीन हुनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ताले पम्फालाई सताइरहेको छ । त्यसैले उहाँ छोराछोरी र नातिनातिनाको नागरिक पहिचानका लागि हारगुहार गरिरहनुभएको छ । उहाँका अनुसार उहाँको जन्म २०२५ सालमा भएको हो । आफूले नागरिकता नहुँदा भोग्नुपरेको सास्ती पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने उहाँको चाहना छ ।
“दुई छोराको नागरिकता नहुँदा न रोजगारी पाएका छन्, न पढ्न नै । बैङ्क खाता खोल्ने अवसरबाट समेत वञ्चित छौँ,” उहाँले भन्नुभयो । ज्यामी काम गरेर गुजारा गर्ने छोराहरूले नागरिकता नभएकै कारण त्यही काम पनि गुमाउनुपरेको उहाँको भनाइ छ । नागरिकता नहुँदा परिवारको रोजीरोटी खोसिनाका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सुविधाबाट समेत वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।
माइतीपट्टिबाट नागरिकता बनाउने प्रयास पनि नगरेको होइन । तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले फर्काएपछि उहाँ निराश भएर काठमाडौँ फर्किनुभयो ।
“श्रीमान् बितेपछि नागरिकता बनाउनुपर्छ भनेर माइती गएँ । तर, त्यहाँ श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए । श्रीमान्को थातथलो थाहा छैन । अब कहाँ जाऊँ ?” उहाँले भन्नुभयो ।
हाम्रो नागरिकता कहिले बन्छ ?
सडक बालबालिकाका रूपमा जीवन बिताएका सञ्जय राई किशोरावस्थामा पुग्दासमेत नागरिकताविहीन हुनुहुन्छ । आफन्तको पहिचान नभएका कारण उहाँले नागरिकता बनाउन सक्नुभएको छैन । जसोतसो तेक्वान्दो खेलाडी बन्नुभएका उहाँले विद्यालयमा प्रशिक्षण दिने काम पनि पाउनुभएको छ । तर, नागरिकता नहुँदा पारिश्रमिक लिन समस्या भएको उहाँले बताउनुभयो ।
उहाँले सञ्चालन गर्दै आएको टिकटक खाता पनि अरूकै नाममा छ । उक्त खातामा आएका पाँच लाख रुपैयाँ पनि अरूले नै राखेको उहाँको गुनासो छ । आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड पनि अरूकै नाममा लिन बाध्य भएको उहाँले बताउनुभयो ।
“नागरिकता नहुँदा बैङ्क खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।
साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग उहाँले प्रश्न गर्नुभयो, “सांसदज्यू, हाम्रो नागरिकता कहिले बन्छ ?”
सञ्जयजस्तै नागरिकताविहीन हुनुहुन्छ अञ्जु गुरु । उहाँले बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताउनुभयो । किशोरावस्थामा विवाह गर्नुभएकी अञ्जुका श्रीमान् पनि सडक मानव हुनुहुन्छ । श्रीमान्–श्रीमती दुवैसँग नागरिकता छैन ।
“नागरिकता भए रोजगारी पाउने थिएँ । भविष्य उज्ज्वल हुन्थ्यो । अहिले अँध्यारोमा बाँचिरहेका छौँ । न पहिचान छ, न सम्मान नै,” उहाँले भन्नुभयो ।
साथसाथ संस्थाले हालै सडक बालबालिकासम्बन्धी गरेको सर्वेक्षणअनुसार १५० जना सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन । अधिकांशले जन्मदर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणको निष्कर्ष छ ।
सर्वेक्षणमा अभिभावकका कागजात नभएका ६५ प्रतिशत, बाबुको पहिचान नभएका तथा बेपत्ता भएका र वैवाहिक अवस्थासँग जोडिएका घटना ३५ प्रतिशत रहेको उल्लेख छ । त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात नभएकाले उनीहरू औपचारिक रोजगारी र सरकारी सुविधाको पहुँचबाट वञ्चित रहेको सर्वेक्षणले देखाएको छ ।
संस्थाले जन्मदर्ता गर्न नसकिएका घटनाको वर्गीकरण पनि गरेको छ । जसअनुसार सँगै बसोबास गर्ने जोडीका तीन, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५, आमाको कागजात नभएका २७, बाबु बेपत्ता भएका ४५ र विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच घटना रहेका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागार्इंले नागरिकताको हक मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताउनुभयो । कागजात प्रमाणित नभएको र अभिभावकको पहिचान नखुलेको अवस्थामा नागरिकलाई सहज जीवनयापन गर्न अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ ।
यसका लागि समितिमा आवश्यक छलफल गरी नागरिकता वितरण प्रक्रिया सहज बनाउन कार्यविधि तयार गर्ने पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
“नागरिकता जस्तो नैसर्गिक अधिकार पाउनुपर्छ । कानुन छ । यसलाई अझ सरल बनाउन समितिमा पहल गर्नेछौँ,” सांसद चौलागार्इंले भन्नुभयो ।
अधिकारकर्मी एवं साथसाथ संस्थाका स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्मदर्ता प्राप्त गर्ने कानुनी व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन जटिल हुँदा सर्वसाधारणले सहज रूपमा सेवा पाउन नसकेको बताउनुभयो ।
“कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्”, उहाँले भन्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |