
चितवन, ७ मङ्सिर : नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रले तीन हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको नि:शुल्क शल्यक्रिया गरिएको छ ।
भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मङ्सिर १ देखि ५ गतेसम्म जिल्लाका आठ स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा परीक्षण गराएकामध्ये ३०३ जनामा मोतियाबिन्दु देखिएको र उनीहरूको शल्यक्रिया भइरहेको उहाँले जानकारी दिनुभयो । सोमबार साँझसम्म सबैको शल्यक्रिया सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
शिविरबाट एक हजार ६९० जनालाई नि:शुल्क औषधि तथा चस्मा वितरण गरिएको पनि घिमिरेले जानकारी दिनुभयो । आइक्याम्पफोर चितवनका संयोजक राजबन्धु गौतमका अनुसार माडीको थारू सङ्ग्रहालय, भरतपुरको मेघौलीस्थित क्लिनिक नेपाल, कालिकाको शक्तिखोरस्थित स्वास्थ्य चौकी र सिद्धि स्वास्थ्य चौकी, खैरहनीको कठार स्वास्थ्य चौकी, इच्छाकामनाको स्याङ्दीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, राप्ती नगरपालिकाको थाकलटार माध्यमिक विद्यालय तथा रत्ननगरस्थित सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।
आर्थिक तथा भौगोलिक कारणले आँखा उपचार सेवाबाट वञ्चित नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गौतमले बताउनुभयो ।
आइक्याम्पफोरले विगत नौ वर्षदेखि हरेक वर्ष नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रमा सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्न कठिनाइ भएका नागरिकलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |