
उदयपुर, ६ मङ्सिरः जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार ४०० मध्ये १५० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।
विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शनिबार सम्पन्न शिविरमा एक हजार ४०० जनालाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । ती सेवाग्राहीमध्ये ८०५ जना विद्यार्थी र अरू अभिभावक, शिक्षकशिक्षिका तथा स्थानीय सर्वसाधारण हुन् ।
शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार चस्मा वितरण तथा शल्यक्रियाको प्रबन्ध पनि गरियो । चस्माबाट दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाउने सिफारिस गरिएको छ । उहाँका अनुसार २१ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ ।
शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि लहान पठाइएको छ । पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शुक्रबार अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ ।
बाँकी ५१ जना बिरामीलाई पनि आइतबारसम्म शल्यक्रिया गर्ने व्यवस्था गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा विनय कामतको नेतृत्वमा आँखा टोली विद्यालयमै आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेपछि विद्यार्थी, अभिभावक र स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएको विद्यालयले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |