
नेपालगन्ज (बाँके), ६ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।
हरियाली वनजङ्गल र पहाडको मनोरम दृश्यले घेरिएको यस मन्दिरमा शिवरात्रि, तीजलगायत धार्मिक पर्वमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ । बाँकेसहित छिमेकी जिल्लाबाट समेत श्रद्धालु आउने यस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि आवश्यक पूर्वाधार र प्रचारप्रसार हुन नसकेको स्थानीयको गुनासो छ ।
मन्दिरसम्म पुग्ने सडक सहज नहुनुका साथै खानेपानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत सुविधाको अभावले भक्तजन तथा पर्यटकलाई समस्या हुने गरेको छ । मन्दिरको धार्मिक महत्व र बढ्दो आकर्षणलाई ध्यानमा राखेर संरक्षण तथा पूर्वाधार विकासमा लगानी गर्नुपर्ने स्थानीय युवा विनय दीक्षितले बताउनुभयो ।
स्थानीय युवा रामलाल यादवले धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण मन्दिरमा आउनेको आकर्षण बढ्दै गए पनि संरक्षण र व्यवस्थापनमा अपेक्षित ध्यान पुग्न नसकेको बताउनुभयो । सम्बन्धित निकायले समयमै ध्यान दिए यो क्षेत्र एसियाकै आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने उहाँको भनाइ छ ।
पर्यटन व्यवसायी श्रीराम सिग्देलले मन्दिरको प्राकृतिक वातावरण, आध्यात्मिक शान्ति र धार्मिक इतिहासलाई समेटेर पर्यटनमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । यसो गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
स्थानीयले मन्दिरको संरक्षण तथा विकासका लागि प्रदेश र स्थानीय सरकारलगायत सम्बन्धित निकायसँग आग्रह गर्दै आएका छन् । स्थानीय रमेश मौर्यले मन्दिर परिसरको स्तरोन्नति, पहुँच मार्ग सुधार, खानेपानी तथा विश्रामस्थल निर्माण र धार्मिक एवं सांस्कृतिक कार्यक्रमको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्दिर धार्मिक आस्था, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण र विकासले नरैनापुरमात्र नभई समग्र बाँके जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उहाँको भनाइ छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका लागि गाउँपालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो । सन्तानेश्वर महादेव मन्दिरलाई बाँकेको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित र आकर्षक बनाउन प्रदेश तथा सङ्घीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको यस मन्दिरको व्यवस्थित विकास हुनसके नरैनापुरको पर्यटन पहिचान स्थापित गर्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |