
राँझा (बाँके), १ मङ्सिरः जिल्लामा डिग्रे मेलाको तयारी पुरा भएको छ ।
डिग्रे मेला कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गरिएको छ । यस वर्ष मङ्सिर ८ गते कात्तिक शुक्ल पूर्णिमा परेको छ ।
बाँकेको जानकी, राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न मठ मन्दिर र नदी किनारमा कात्तिक ८ गतेबाट तीनदिनसम्म मेला लाग्ने गरेको छ ।
कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । यसवर्ष मङ्सिर ८ देखि तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिनुभयो ।
“यो वर्ष पनि विगतका वर्षमा जस्तै भव्य रुपमा मेला सञ्चालन गर्ने तयारी गरिएको छ”, अध्यक्ष खाँले भन्नुभयो, “बाँके जिल्लाकै ऐतिहासिक मेला भएकोले यसको व्यवस्थापन तथा सुरक्षाको लागि आवश्यक तयारीको कार्यमा सबै जुटेका छौँ ।”
पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राती सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ ।
ऐतिहासिक मेलाको संरक्षणको लागि आफूहरुले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताउनुभयो ।
गुरुवा गाउँ मेलामा हुने भेडा जुधाइ प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको स्थानीय अगुवा पूर्ववडाध्यक्ष रमेश बर्माले बताउनुभयो ।
जानकी गाउँपालिका–२ जोगागाउँमा पनि मेला भर्नेको भीड लाग्ने गर्दछ । मेलालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आवश्यक तयारी गरिएको वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ टिकुलीपुरमा पनि प्रत्येक वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । मेला हेर्न हरेक वर्ष बाँके, बर्दिया, दाङलगायत भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा दर्शकहरु पुग्ने गर्दछन् ।
कात्तिक पूर्णिमाका दिन डुडुवा गाउँपालिकास्थित राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |