
इलाम, ३० कात्तिक : माङसेबुङ गाउँपालिकामा चार दिने नि:शुल्क आँखा परीक्षण (शिविर) आजबाट सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ७३औँ जन्मोत्सवको अवसरमा उक्त शिविर हुन गइरहेको हो । किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति, माङसेबुङ गाउँपालिकाका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा शिविर सञ्चाल गरिएको हो ।
माङसेबुङ गाउँपालिका कार्यालयमा सुरु भएको शिविरको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गर्नुभयो । मङ्सिर ४ गते हुने शिविर दुई चरणमा हुनेछ । आयोजकका अनुसार पहिलो चरणमा सोमबार माङसेबुङ गाउँपालिको शिविरबाट आँखाका बिरामीको परीक्षण गरी मोतिबिन्दु पहिचान गरिनेछ ।
दोस्रो चरणमा मङ्सिर २, ३ र ४ गते माङसेबुङ गाउँपालिका–५ स्थित भालुटारमा नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन हुनेछ । शिविरमा यसअघि छनौट भएका बिरामीको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको आयोजक अङ्सीमाङगेन्ना सेवा समिति अध्यक्ष केहरसिं योङहाङले जानकारी दिनुभयो ।
डा सन्दुक रुइतको उपस्थितिमा मोतिबिन्दुको शल्यक्रिया हुनेछ । शिविरमा डा रुइतसहित तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. भोला यादव, डा दावा तामाङ, डा विवेक चौधरीको उपस्थिति छ । सोमबार बिरामीको आँखा परीक्षण, औषधि वितरण, चस्मा वितरण र मोतिबिन्दु पहिचान भएकालाई शल्यक्रियाका लागि सिफारिस भइरहेको डा यादवले जानकारी दिनुभयो ।
सेवा लिन माङसेबुङका विभिन्न गाउँ तथा क्षेत्रबाट सेवाग्राहीहरु शिविरमा सहभागी भएका छन् । मोतियाबिन्दु शल्यक्रियाका लागि गाउँपालिकामा भएको आँखा परीक्षण शिविरबाट भालुटारमा हुने शल्यक्रिया शिविरसम्म बिरामी पुर्याउन र ल्याउन गाउँपालिकाले सवारीसाधनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । “आजको शिविरबाट मोतिबिन्दु पहिचान भएकालाई मङ्सिर २ देखि ४ गतेसम्म माङसेबुङ–५ भालुटारमा हुने शिविरसम्म लैजान र ल्याउन गाउँपालिकाले गाडीको व्यवस्था गरेको छ”, अध्यक्ष राईले भन्नुभयो, “नेत्र रोग विशेषज्ञको उपस्थितिमा माङसेबुङमा पहिलोपटक आयोजना भएको शिविरबाट अधिकतम सेवा लिन गाउँवासीलाई अपिल गरिएको छ ।”
मोतियाबिन्दुको शल्यक्रिया गर्ने बिरामीलाई आयोजकले खाना र बस्नको समेत व्यवस्था गरेको आयोजक अङ्सीमाङ्गेन्ना समिति अध्यक्ष योङहाङले बताउनुभयो । “मोतिबिन्दुको शल्यक्रिया गर्न आउने बिरामीका लागि आयोजकको तर्फबाट खाना र बस्नको लागि नि:शुल्क व्यवस्था गरिएको छ”, अध्यक्ष योङहाङले भन्नुभयो ।
आँखाको समस्या भएर पनि उपचारको पहुँचमा पुग्न नसकेका बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट माङसेबुङका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |