
अन्ताल्या (टर्किए), २८ कात्तिकः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताउनुभएको छ ।
कोप–३१ सम्मेलन स्थलमा रहेको पाकिस्तान प्याभिलियनमा आज आयोजित ‘समुदायको नेतृत्वमा तथ्याङ्कमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उहाँले बाढी प्रभावितको पुनःस्थापनाका लागि नेपालले गरिरहेका पहल र प्रक्रियाबारे जानकारी गराउनुभयो ।
डा उप्रेतीका अनुसार प्रभावित क्षेत्रको भौगर्भिक तथा बाढी जोखिम आकलन, सुरक्षित स्थानको पहिचान र स्थायी आवास निर्माणका लागि लाभग्राही छनोटको प्रक्रिया अघि बढाइएको छ । प्रभावितलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा बाढीबाट प्रभावित निजी जग्गासँग सरकारी जग्गा साट्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय भएको जानकारी दिँदै उहाँले पुनःस्थापना प्रक्रियामा जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।
“नेपालले जोखिमसम्बन्धी ज्ञान तथा पूर्वसूचना प्रणालीलाई योजना निर्माणको आधारका रूपमा आत्मसात् गरेको छ । भौगर्भिक जोखिम, बाढीजन्य जोखिम तथा तिनका शृङ्खलाबद्ध असरको बहुप्रकोपीय जोखिम आकलन सुरु गरिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले सन् २०२२ मा पाकिस्तानमा आएको विनाशकारी बाढीपछि हजारौँ प्रभावितको पुनmस्थापना तथा पुनर्निर्माणका क्रममा हासिल भएका अनुभव र सिकाइबाट नेपालले लाभ लिनसक्ने धारणा राख्नुभयो । छलफलमा पाकिस्तानी प्रतिनिधिहरूले सन् २०२२ को बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका अनुभव, चुनौती र सिकाइ प्रस्तुत गर्नुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |