
कास्की, २८ कात्तिक ः पोखराका चार स्थानमा छठ पर्व मनाउनका लागि पूजाको तयारी गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरुमा जस्तै यस वर्ष पोखरामा समेत भव्य रूपमा मनाउन लागिएको हो ।
पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, भद्रकालीस्थित माछापोखरी र फूलबारी र भलामको बीचमा रहेको कालीखोलामा छठ पूजाका लागि स्थान निर्माण गरिएको हो । पूजास्थलको सरसफाइ गरिएको छ । विभिन्न रङका बत्ती र सजावटले झिलिमिली बनाउनेकार्य भइरहेको र चारवटै स्थानमा टेन्ट राखेर व्रतालु तथा दर्शनार्थीका लागि पूजा र दर्शनको विशेष व्यवस्था मिलाइएको नेपाल–भारत (एनबी) व्यवसायी समितिका अध्यक्ष भुनेश कुमारले जानकारी दिनुभयो ।
उहाँका अनुसार रोजगारी, पेसा तथा व्यवसायका कारण पोखरामा बसोबास गर्दै आएका तराई–मधेस समुदायका व्यक्तिलाई घर जान सम्भव नभए पनि यहीँ छठ पर्व भव्य रूपमा मनाउन सहज होस् भन्ने उद्देश्यले केही वर्षअघिदेखि पूजाको व्यवस्था मिलाइँदै आएको छ ।
“छठ पूजा गर्न घर जान नसक्ने र नभ्याउनेका लागि पोखरामै बसेर पूजा गर्ने व्यवस्था गर्दै आएका छौँ । यस वर्ष पनि भव्य रूपमा पर्व मनाउन चार स्थानमा तयारी गरेका छौँ । तराई मधेसी तथा भारतीय नागरिकसहित पछिल्लो समय पहाडी क्षेत्रका व्यक्ति पूजामा सहभागी हुने गरेका छन् । व्रतालुलाई कुनै असुविधा नहोस् भनेर आवश्यक व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।
पोखरामा यस वर्ष एक हजारदेखि एक हजार ५०० जनासम्म व्रतालुले छठ पूजा गर्ने र दर्शन तथा अवलोकनका लागि आउनेसहित करिव १० हजार जनाको सहभागिता हुने अपेक्षा गरिएको समितिका अध्यक्ष कुमारले बताउनुभयो ।
पूजालाई व्यवस्थित बनाउन चारवटै स्थानमा छुट्टाछुट्टै पूजा समिति गठन गरिएको छ । ती समितिले व्रतालु तथा सहभागीबाट स्वेच्छिक सहयोग सङ्कलन गरी पूजा व्यवस्थापन गर्दै आएका छन् ।
छठ पर्व विशेषगरी सूर्यदेव र छठी माताको उपासना गरी मनाइने धार्मिक पर्व हो । यस पर्वमा व्रतालुले उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने विश्वासका साथ छठ व्रत बस्ने गरिन्छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन गरिन्छ ।
यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ । छठ पूजाका अवसरमा घाटलाई केराका बोट, उखु, अदुवा, भोगटे, सुन्तला तथा विभिन्न फलफूलले सजाउने गरिन्छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |